सरसफाइ अभियानलाई निरन्तरता दिनुपर्छ – मुख्य सचिव डा.सुवेदी

पोखरा, २२ जेठ –

पोखराको फिर्के बुलौँंदी खोलामा मानवीय अतिक्रमणसँगै प्रदुषण बढ्दै गएकाले आजदेखि फिर्के बुलौदी खोला वृहत सफाइ अभियान सुरु गरिएको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीले सफाइ अभियानको शुभारम्भ गर्दै यो अभियानलाई निरन्तरता दिँदै सुन्दर पोखरालाई अझै सुन्दर बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पोखरेली जनताको यो अभियानलाई अनुसरण गर्दै अन्य सहरका जनताले पनि प्रदूषित बन्दै गएका खोलानाला सफा गरी आफनो सहरलाई सुन्दर बनाउनुपर्नेमा जोड दिनुभयो ।

वाग्मती सफाई अभियानका अभियन्ता एवम् पूर्व मुख्य सचिव लीलामणि पौडेलले “हामीले सफा नगरे कसले गर्ने, अहिले नगरे कहिले गर्ने” भनी त्यहाँ उपस्थित सबैलाई सपथ खुवाउनुभएको थियो ।

पोखरा– २६ अँधेरीकुनाबाट फिर्के खोलाको सफाइ अभियान सुरु भएको सो अभियान अन्तर्गत आज एक किलोमिटर सफाइ गरिएको छ । करिब सात हजार पोखरेलीको सहभागितामा सात ट्रक फोहोर निकालिएको अभियानका संयोजक रामबहादुर पौडेलले जानकारी दिनुभयो ।

आज पुन मगर समाज घरसम्म सफाइ गरिएको छ र अर्को शनिबार सफाइ अभियान त्यहीबाट सुरु गरिने बताइएको छ । फिर्के बुलौदी खोलाबाट बगाइ ल्याउने प्लास्टिकजन्य फोहरमैलाका कारण फेवातालको ड्यामसाइडस्थित गाईघाटमा करिब १० रोपनी पानीको भु–भाग टापुमा परिणत भई नजिक रहेको रानीवनसम्म क्रमश पुरिँदै गएको छ ।

यही क्रमले फोहरमैला बढ्दै जाने हो र समयमै रोकथाम एवम् समाधानका उपाय खोज्नतर्फ नलाग्ने हो भने अबको पाँच वर्षमा त्यस क्षेत्रको पानीको भू–भाग पुरिनगई गल्छी मात्र बाँकी रहने भएकाले पोखराका ६५ वटा सङ्घ संस्था आवद्ध भएको वृहत भेलाले १५ सदस्यीय फिर्के बुलौदीखोला नागरिक सरोकार समिति गठन गरेको थियो ।

दश हप्तासम्ममा फिर्के खोलाको सरसफाइ सकेर बुलौदिखोला पनि सफाइ गरिने बताइएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button