शान्ति समितिमा एकसय एघार उजुरी दर्ता

रौतहट, २४ जेठ –

सशस्त्र द्वन्दका समयमा भएगरेका घटनाको छानबिनको माग गर्दै स्थानीय शान्ति समिति रौतहटमा हालसम्ममा १११ वटा उजुरी दर्ता भएका छन् ।

Hot Air Balloon Booking
Paragliding Pokhara
Pokhara Bungy

सत्य निरुपण तथा मेलमिलाप आयोगतर्फ ८६ वटा र बेपत्ता आयोगतर्फ २५ वटा उजुरी हालसम्म दर्ता भएको स्थानीय शान्ति समिति रौतहटका सचिव पुष्पराज यादवले बताउनुभयो । स्थानीय शान्ति समितिले सर्वसाधारणको उजुरी लिने म्याद आगामी असार २ गतेसम्म रहेको जनाएको छ ।

विसं २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म भएका मानवअधिकार उल्लङ्घनका घटनाको यहाँ उजुरी लिने कार्य धमाधम भइरहेको छ । समितिले तत्कालीन विद्रोही पक्ष र राज्य पक्षबाट भएका मानवअधिकार उल्लङ्घनका घटनाका उजुरी दर्ता गर्ने गरेको छ ।

आयोगले सशस्त्र द्वन्दको समयमा भएका हत्या, अपहरण शरीर बन्धक, अङ्गभङ्ग वा अपाङ्ग बनाउने, शारीरिक वा मानसिक यातना, बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति लुटपाट, कब्जा, तोडफोड, आगजनी, घरजग्गाबाट जबर्जस्ती निकाला, अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै अमानवीय कार्य वा मानवताविरोधी घटनासम्बन्धी पीडितका उजुरी दर्ता गरिरहेको छ ।

सत्यनिरुपण तथा मेलमिलापतर्फ सो अवधिमा मारिएका, अपहरणमा परेका, घरबारविहीन पारिएका, यातना दिइएका, बलात्कृत र अरू यस्तै मानवअधिकारसम्बन्धी गम्भीर उल्लङ्घनका घटनाको उजुरी लिने गरिएको छ भने बेपत्तातर्फ बेपत्ताकै अवस्थाबारे उजुरी दर्ता गर्ने व्यवस्था मिलाइएको छ ।

आयोगले स्थानीय शान्ति समितिको कार्यालय अथवा सोझै आयोगको कार्यालयमा पीडितले चाहेअनुसार खामबन्दी, इमेल अथवा खुल्लै पनि उजुरी दिन आग्रह गरेको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button