गरिबी विरुद्ध लड्न समय सापेक्ष शिक्षाको आवश्यकता – नेता खनाल

काठमाडौँ, २९ जेठ –

नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालले बेरोजगारी, अशिक्षा तथा गरिबीविरुद्ध लड्न समयसापेक्ष शिक्षाको आवश्यकता औँल्याउनुभएको छ ।

चामुण्डा उच्च माध्यमिक विद्यालयको स्वर्ण महोत्सव समारोहको आज जोरपाटीमा उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । संसद्बाट हालै पारित शिक्षा ऐन सकारात्मक भए पनि अझै समयसापेक्ष हुन नसकेको बताउनुभयो । “शैक्षिक योग्यताको प्रमाणपत्र पाएलगत्तै रोजगारी हासिल हुने शिक्षाको आवश्यकता छ, यसका लागि मुलुकलाई आदर्श नेता चाहिएको छ, त्यो समयसापेक्ष शिक्षाले मात्र पूरा गर्न सक्छ” – उहाँले भन्नुभयो ।

सांसदहरु रामेश्वर फुयाँल, शेरबहादुर तामाङ र पेम्बा लामाले शैक्षिक जनशक्ति तयार गर्न चामुण्डा उच्च माध्यमिक विद्यालयले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।

सो समारोहमा पूर्व प्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले स्वर्ण महोत्सवको अवसरमा प्रकाशित विशेष स्मारिकको विमोचन गर्नुभयो । विद्यालय स्थापना तथा सञ्चालनमा उल्लेखनीय भूमिका खेल्ने विभिन्न व्यक्तित्वलाई कार्यक्रममा सम्मान गरिएको थियो ।

मरणोपरान्त सम्मानित हुनेमा पूर्व सांसद चक्रबहादुर ठकुरी र मणिराम चालिसेलगायत हुनुहुन्छ । सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा समाजसेवी दीपकसिंह भण्डारीले आफ्ना पिता टुन्नरसिंह भण्डारी तथा माता यज्ञकुमारी भण्डारीको स्मृतिमा नगद रु ५० हजार विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णगोपाल तामाङ, प्राचार्य यादवप्रसाद पौडेल, सहप्राचार्य गुणराम आचार्य, जनसम्पर्क अधिकृत शत्रुध्नबहादुर सुवेदी, स्रोत व्यक्ति रामनारायण शाहले विद्यालयले यस क्षेत्रमा पु¥याएको योगदानको चर्चा गर्नुभयो ।

विसं २०२४ मा स्थापना भएको चामुण्डा माविमा अहिले एक हजार आठ सयभन्दा बढी विद्यार्थी अध्ययनरत छन् । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button