पाँचथर, ३० जेठ –
पाँचथरको नाँगिन वडा नं १ खमारे र मिश्रडाँडामा सबैको घरमा पानी आउन थालेपछि अहिले त्यस क्षेत्रका स्थानीयवासी हर्षित भएका छन् ।
जिल्ला विकास समिति, पाँचथरको रु १४ लाख लागतमा खानेपानी आयोजना सञ्चालनमा आएपछि अहिले त्यस क्षेत्रका स्थानीयवासी हर्षित भएका हुन् । खानेपानी अभावले हाहाकार मच्चिने त्यस क्षेत्रमा अहिले धारा जडान गरेपछि ३२ घरधुरीका स्थानीयवासी लाभान्वित भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष कमल मिश्रले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो – “खानेपानीको अभावले गर्दा यस ठाउँका स्थानीय बसाइँ सर्ने बाध्यतामा रहेका थिए, तर अब घर घरमा खानेपानीको धारा भएपछि हामी खुसी छौँ ।” समितिका सचिव रुपेश बुढाथोकीका अनुसार छिमेकी गाविस याङ्नाम वडा नं २ ढाल्नेबोटेको मुहानबाट खानेपानी ल्याइएको हो । रासस





