खडेरीले वन्यजन्तुलाई पानीको समस्या

भीमदत्तनगर, ३० जेठ –

लामो समयको खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षमा वन्यजन्तुलाई पानीको प्यास मेटाउन समस्या भएको छ । आरक्षभित्र रहेका पानीका प्राकृतिक स्रोत सुक्न थालेपछि वन्यजन्तुलाई पानी उपलब्ध गराउन समस्या देखिएको छ ।

शुक्लाफाँटा आरक्षभित्र रहेका झन्डै डेढ दर्जन बढी प्राकृतिक ताल र नदीनालामध्ये अधिकांश सुक्दै गएका छन् । लामो खडेरीले ताल सुकेपछि अहिले आरक्ष प्रशासनले पानीको समस्या समाधान गर्न कृत्रिम तालमा ट्युवेलबाट पानी भरेर वन्यजन्तुको तिर्खा मेटाउन थालेको छ ।

“वर्षा नहुँदा आरक्षभित्रका ताल सुक्दै गएको अवस्था छ, त्यसैले कृत्रिम तालमा वन्यजन्तुका लागि ट्युवेलबाट पानी भर्ने गरेका छौँ”, आरक्षका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले भन्नुभयो, “अर्जुनी लगायतका केही क्षेत्रमा पनि नयाँ ताल बनाउने काम हुँदैछ ।” आरक्षको सबैतिर ताल बनाउन सकिए खडेरीका बेला वन्यजन्तुको प्यास मेटाउन सहज हुने उहाँको भनाइ छ । आरक्षभित्रका प्राकृतिक तालको वर्षौंदेखि संरक्षण र संवद्र्धन नहुँदा पुरिने क्रम जारी छ । आरक्ष प्रशासनले बजेट अभाव देखाउँदै केही साना ताल बाहेकको जलकुम्भी हटाउन सकेको छैन । अहिले शुक्लाफाँटाको प्रमुख तालका रुपमा परिचित रानी ताल बाहेकका ताल सुकेको अवस्थामा छन् ।

पानीको समस्या बढ्दै गएकाले आरक्ष प्रशासनले बाह्रसिङ्गे सँगै अधिकांश दुर्लभ वन्यजन्तुको बासस्थान रहेको शुक्लाफाँटा घाँसेमैदानमा कृत्रिम ताल निर्माण गरिएका छन् । “शुक्लामा मात्रै तीन कृत्रिम तालमा नियमित ट्युवेलबाट पानी भर्ने गरेका छौँ, पानीको समस्या नहोस् भनेर यस्तो गरिएको हो”, प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो । बाह्रसिङ्गेसँगै बाघ, गैँडा, हात्ती लगायतका वन्यजन्तु र विभिन्न प्रजातिका चराचुरुङ्गी, जलचरको बासस्थान रहेको शुक्लाफाँटा आरक्षका ताल केही वर्षयता सुक्ने क्रमले वन्यजन्तुको अस्तित्वसमेत सङ्कटमा पर्न थालेको छ ।

हालै शुक्लाका तीन र बाबा तालमा ट्युवेल र सोलारजडित मोटरबाट दैनिक पानी भर्ने गरिएको छ । शुक्लाको सुके र बाघ पोखरीमा सोलार जडित मोटर र शुक्लाको तीनकुने पोखरी र आरक्ष कार्यालयनजिक पर्ने बाघ पोखरीमा ट्युवेलबाट पानी भर्ने गरिएको छ । आरक्षका सिकारी ताल, रानीताल, लालपानी, राराताल, कालिकिच लगायतका तालको पानी सुक्दा वन्यजन्तुलाई पानी समस्या भएपछि कृत्रिम ताल निर्माण गरी पानी भर्न थालिएको हो ।

विगतमा सधैँजसो पानी रहने आरक्षका तालमा केही वर्षयता जलस्तर घट्ने र सुक्ने क्रम देखिएको हो । लामो खडेरी र तालको नियमित सरसफाइको अभावमा यस्तो समस्या आएको आरक्ष कार्यालयको भनाइ छ । करिब आधा दशकयता पानीका स्रोत बर्सेनि सुक्दै गएपछि कृत्रिम ताल निर्माण गरी पानी भर्न थालिएको हो । वन्यजन्तुको बासस्थान घनत्वका हिसाबमा कृत्रिम ताल निर्माण गरी पानी आपूर्ति गरिएको जानकारी गराउँदै प्रमुख संरक्षण अधिकृत ढकालले भन्नुभयो, “पर्याप्त बजेट अभावमा तालको व्यवस्थापन गर्न अप्ठ्यारो परिरहेको छ ।”

जलकुम्भी नहटाउँदा रानी ताल पनि हरेक वर्ष पुरिँदै गएको छ । विभिन्न प्रजातिका चराचुरुङ्गी, माछा, मगर गोहीको बासस्थान रहेको रानी तालले संरक्षणको अभावमा आफ्नो मौलिक गहिराइ र पहिचान गुमाउँदै गएको आरक्षका कर्मचारी बताउँछन् । यहाँका ताल पुरिँदै जाँदा आरक्षको सुन्दरतासँगै सिमसार क्षेत्रमा पाइने वन्यजन्तु लोप हुने खतरा बढेको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button