पोखरा, ३० जेठ –
गृहमन्त्री शक्तिबहादुर बस्नेतले आन्दोलनरत दलहरुबीच सहमति नभएपनि संविधान कार्यान्वयन हुने बताएका छन । प्रेस सेन्टर कास्कीले आइतबार पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले संविधान कार्यान्वयनको मुख्य कार्यभार रहेको बताउदै दलहरु विच सहमति नभए पनि संविधान कार्यान्वयन हुने दाबी गरेका हुन ।
उनले भने “ आन्दोलनरत दलहरु सहमतिमा नआएपनि संविधान कार्यान्वयन हुन्छ, तर त्यसका लागि संविधान जारी गर्ने बेलामा एक ठाउँमा भएका दलहरु फेरी एक ठाउँमा आउनुपर्छ ।”उनले संविधान बिरोधीहरुले संविधान कार्यान्वयन नहोस् भन्ने कामना गर्दै अँध्यारो कोठामा धुप बालिरहेको आरोप लगाए । संविधान कार्यान्वयनको विकल्प नभएको बताएका गृहमन्त्री वस्नेतले अहिलेको मुख्य कार्यभार भनेकै संविधानको कार्यान्वयन भएको दाबी गरे । गृहमन्त्री बस्नेतले संविधानले सबै दल र जनताका आकांक्षाहरु शतप्रतिशत पूरा नगरेपनि यसले केही हदसम्म सम्बोधन गरेको जनाए । देशमा जारी नयाँ संविधान कार्यान्वयन हुन सके आर्थिक अभावले गर्दा कुनै पनि नेपाली विदेशीनु नपर्ने बताएका छन ।
उनले भने “संविधान सहि अर्थमा लागु गर्न सके, जनताका धेरै आकांक्षा पूरा हुने छ, संविधान कार्यान्वयन गर्न सकियो भने वा सहि अर्थमा संविधान लागु गर्न सकियो भने नेपाली कसैलेपनि आवासविहिन् हुनु पर्दैन, अनि दुई-चार पैसा कमाउनकै लागि बिदेश जानुपनि पर्दैन ।”
गृहमन्त्री बस्नेतले प्रधानमन्त्रीले आफ्नो राजिनामा नमागेको जनाए । प्रधानमन्त्रीले राजिनामा मागेको विषयमा उनले भने “ कसैले पनि राजिनामा मागेको छैन, यदि कसैले मागिहालेको भए मलाई जानकारी छैन, कसैले राजिनामा मागेको हो भन्छ भने जसले भन्छ उसैलाई सोध्नुस् ।”
गृहमन्त्री बस्नेतले विप्लव माओवादीको समूहले एनसेलको टावरमा आक्रमण गरेको प्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले दुर्गम र विकट क्षेत्रमा भएका टावरहरुमा मात्र आक्रमण भएको बताउँदै आक्रमणकारीलाई कानूनी दायरामा ल्याउने दाबी गरे । साथै उनले आक्रमण भएको र आक्रमण हुनसक्ने ठाउँहरुमा सुरक्षाको प्रबन्ध समेत गरिसकेको बताए ।
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution