धूमपान गर्ने अठ्चालीस हजारलाई कारबाही

काठमाडौँ, ३० जेठ –

जिल्ला प्रशासन कार्यालय काठमाडौँले गएको छ महिनामा ७३३ मुद्दा चलाएको छ ।

जिप्रका काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामकृष्ण सुवेदीले २०७२ पुस १ देखि कार्यभार सम्हालेयता जेठ २७ गतेसम्मको अवधिमा कार्यालयले सार्वजनिक अपराधमा ६६१, कालोबजारीमा ३३, खाद्यसम्बन्धी २२, हातहतियारका पाँच र विविध १२ मुद्दा दर्ता गरिएको छ । यो अवधिमा राहदानी बनाउन २२ हजार ५५ जनालाई सिफारिस प्रदान गरेको छ जसअनुसार साधारणतर्फ १६ हजार ५००, दु्रतमार्गबाट पाँच हजार ५५५ जनाको राहदानीका लागि सिफारिस गरेको छ । यो अवधिमा १७ हजार ४८१ जनाले राहदानी लिएका छन् ।

गत वर्षको भूकम्पमा परेकालाई तत्काल राहतस्वरुप रु १५ हजारका दरले ४१ हजार ९८३ परिवारलाई रु ६२ करोड ९७ लाख ४५ हजार वितरण, न्यानो कपडाका लागि प्रतिपरिवारलाई रु १० हजारका दरले ३७ हजार २१ परिवारलाई रु ३७ करोड दुई लाख १० हजार वितरण गरिसकिएको जिप्रकाले जनाएको छ ।

यो अवधिमा सार्वजनिक स्थलमा धूमपान र सुर्तीजन्य पदार्थको प्रयोग गर्ने ४० हजार ६७० जनालाई सम्झाइबुझाइ छाडिएको र सात हजार ५३६ जनालाई कारबाही गरिएको प्रजिअ सुवेदीले जानकारी दिनुभयो । आफूले सार्वजनिक स्थानमा धूमपान र सुर्ती सेवनविरुद्ध अभियान सुरु गरेको र यो प्रभावकारी भइरहेको उहाँको भनाइ छ । धूमपानसम्बन्धी १३२ विद्यालय र कलेजमा कक्षा सञ्चालन गरिएको, एक हजार ३५२ वटा सवारीमा धूमपान नगर्न जनचेतनामूलक स्टिकर टाँसिएको छ ।

पेट्रोलियम पदार्थको कालोबजारी गर्ने सन्दर्भमा यो अवधिमा प्रहरीबाट पेट्र्रोल पाँच हजार ८६६ लिटर, डिजेल २५ हजार ६५७ लिटर, मट्टितेल एक हजार ६० लिटर र एलपी ग्यास ८९३ सिलिन्डर जफत भएको र कालोबजारीसम्बन्धी १०७ जना व्यक्तिउपर ८५ मुद्दा दर्ता गरिएको छ ।

धोबीखोलास्थित ३० रोपनी अतिक्रमित सार्वजनिक जग्गा पहिचान गरी तारबार गरिएको, राजधानीका विभिन्न स्थानबाट १२४ जना बालक र २० जना बालिका गरी १४४ जना सडक बालबालिका उद्धार गरी केन्द्रीय बालकल्याण समितिको संरक्षणगृहमा राखिएको प्रगति विवरणमा उल्लेख छ ।

पशुपति र महाकाल मन्दिर क्षेत्रमा घरेलु मदिरा तथा बिनाइजाजत सञ्चालन गरिएका मदिरा पसलमा कारबाही गरी सातजनालाई पक्राउ गरिएको, सरकारी कार्यालय अनुगमनका क्रममा कार्यालयमा अनुपस्थित राजपत्राङ्कित दुई, अधिकृतस्तरका २० र अन्य तहका ६७ गरी ८९ जना कर्मचारीलाई कारबाही गरिएको जिप्रका काठमाडौँले जनाएको छ ।

यो अवधिमा सात हजार १९६ जनालाई नागरिकता र तीन हजार ७४९ थान नागरिकता प्रतिलिपि प्रदान गरिएको छ । त्यस्तै ४३० नयाँ संस्था दर्ता र एक हजार ९०२ को नवीकरण गरिएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button