बालबालिकाले गरे धुर्मुस सुन्तलीलाई १ लाख २० हजार सहयोग

सुनवल, ३१ जेठ –

गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई नेपालकै पहिलो बालमैत्री नगरपालिका सुनवलका बालबालिकाले १ लाख २० हजार रुपैँया सहयोग गरेका छन् । नगरपालिकामा रहेका १ सय १७ बाल क्लबहरुले सुनवलबासीबाट रकम संकलन धुर्मुस सुन्तलीलाई सहयोग गरेका हुन् ।

गिरान्चौर नेपालकै पहिलो बालमैत्री, अपाङ्गमैत्री र वातावरणमैत्री एकिकृत नमुना बस्ती बन्न लागेकाले उक्त सहयोग गरेको सुनवल नगरबाल क्लबकी संस्थापक अध्यक्ष विपना शर्माले बताएकी छिन् । देशभर रहेका २१ हजार बालक्लबहरुलाई बन्दै गरेका बालमैत्री एकिकृत बस्ती निर्माणमा सहयोग गर्नुपर्छ भन्ने सन्देश दिनका लागि पनि यो सहयोग गरेको उनको भनाई छ । सुनवलबाट बालबालिकाको समूह गिरान्चौरमा नै पुगेर उक्त सहयोग हस्तान्तरण गरेका छन् । सुनवल नगरपालिकाको सहयोगमा प्रत्येक घरघर पुगेर संकलन गरिएको उक्त रकम बस्तीमै पुगेर हस्तान्तरण गर्न पाउँदा निकै खुशि लागेको सुनवल नगर बाल सञ्जालकी अध्यक्ष वर्षा गैरेले बताएकी छिन् । बालबालिकाले पनि आवश्यक पर्दा सहयोग गर्न सक्छन्, भन्ने उदाहरणका लागि पनि यो कार्य गरिएको उनको भनाई छ ।

सहयोग रकम बुझ्दै धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले बालबालिकाले गरेको उक्त सहयोगको प्रशंसा गरेका छन् । बालमैत्री समाजमा हुर्केका बालबालिकाको सोच नै फरक हुने भएकाले नै आफुहरुले गिरान्चौरलाई बालमैत्री एकिकृत बस्ती बनाउने प्रण गरेको उनले बताएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button