ताप्लेजुङ, ३२ जेठ –
अविरल वर्षाका कारण माथिबाट झरेको ढिस्कोले घर भत्किएर पुरिँदा ताप्लेजुङमा दुई जनाको ज्यान गएको छ ।
ज्यान जानेमा ताप्लेजुङ नगरपालिका–८ निवासी ४ वर्षीया अंशु तामाङ र ३ वर्षीय अमृत तामाङ रहेका छन् ।
आज बिहान करिब २ बजेको समयमा माथिबाट झरेको ढिस्कोले घरको तल्लो तला भत्काएको र सोही तलामा सुतिरहेका उनीहरुको पुरिएर ज्यान गएको ताप्लेजुङका प्रहरी प्रमुख रामबहादुर केसीले जानकारी दिनुभयो । उहाँका अनुसार मृतक बालबालिकाकी आमा ३० वर्षीया सीता तामाङ र दिदी १२ वर्षीया अस्मिता तामाङ घाइते भएका छन् । उनीहरुको अहिले जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको जनाइएको छ । सीताका श्रीमान् मनकुमार तामाङ भने बैदेशिक रोजगारीमा रहेका छन् ।
यता मेची राजमार्गअन्तर्गत दोखुमा पर्ने ल्याङ्बा सडकखण्डमा माथिबाट झरेको पहिरोले बाटो अवरुद्ध भएको छ । अविरल वर्षाका कारण गएराति झरेको पहिरोले सडकको केही भाग पुरिएको र अहिले स्काभेटरको सहायतामा पहिरो पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
सो पहिरोका कारण ताप्लेजुङबाट बाहिरिने र अन्य जिल्लाबाट भित्रने सवारीसाधन बिचमै अलपत्र परेका छन् । मध्य रातिदेखि ताप्लेजुङमा लगातार वर्षा भइरहेका कारण पहिरोको जोखिम बढेको भन्दै स्थानीयवासी त्रसित भएका छन् ।
रासस
फाउण्डर/सम्पादक
गणेश बरालसम्पादक
शिव अधिकारीसुचना विभाग दर्ता नं.
128236/20719845721717
pokharanews@gmail.comAddress:
Pokhara-8, Kaski2005 - 2025 pokharanews.com
Designed by: Goji Solution