छुई प्रथा न्यूनीकरणमा सचेतना अभियान

जुम्ला, १ असार –

नेपाल मजदुर किसान पार्टी जुम्लाले छुई प्रथा न्यूनीकरण सचेतना अभियान थालेको छ ।

सरकारी तथा गैरसरकारी निकायले निरन्तरता दिँदै आएको सो अभियान सकारात्मक भएको औँल्याउँदै ‘महिला पुरुष अघि सरौँ, छुई प्रथाको अन्त्य गरौँ’ भन्ने मूल नाराका साथ नेमकिपाले सचेतना अभियानलाई अघि बढाएको जिल्ला अध्यक्ष शिवलाल डाँगीले बताउनुभयो । सचेतना अभियान नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ मार्फत थालिएको डाँगीको भनाइ छ ।

विद्यालयमा गठन भएका सङ्घसङ्गठनबाट यो बढी प्रभावकारी हुने भएकाले सोही क्षेत्रमा गएर छाउप्रथा, मानवअधिकार, सामाजिक विकास, प्रजनन स्वास्थ्य र महिला हिंसाका विषयमा जानकारी गराउन लागिएको सङ्घका जिल्ला अध्यक्ष महेश नेपालीले जानकारी दिनुभयो ।

“हामीले जिल्लाका विभिन्न विद्यालयमा छाउप्रथाका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएका छौँ, त्यसमा विशेषगरी किशोर–किशोरी समेटिएका छन्”, उहाँले भन्नुभयो । छुई प्रथाको अन्त्यका लागि किशोर–किशोरीको भूमिका के हुने भन्नेबारे बहस पनि गराइएको उहाँको भनाइ थियो । नेमकिपाका जुम्ला अध्यक्ष डाँगीले हरेक राजनीतिक दलले आआफ्ना कार्यकर्तामार्फत यस प्रथाको अन्त्य गर्न गाउँ गाउँमा सन्देश दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल क्रान्तिकारी शिक्षक सङ्घका केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालले सामाजिक विकृतिका रुपमा रहेको छुई प्रथा अन्त्यका लागि सहकार्यको टड्कारो आवश्यक रहेको औँल्याउनुभयो । उहाँले भन्नुभयो, “२१औँ शताब्दीमा पनि पश्चिमका मान्छे गोठ बस्नु दुर्भाग्य हो, यो प्रथा सभ्य समाज निर्माणको बाधक बनेको छ । देवता रिसाउँछन् भन्ने पितृसत्तात्मक सोचका कारण नै महिलाले दुःख भोगिरहेका छन् ।”

युवा नेता कृष्णबहादुर बुढाले छाउपडी उन्मूलन निर्देशिका सरकारले लागू गरेकाले यसको कार्यान्वयनमा सबैको समन्वयकारी भूमिका हुनुपर्ने जनाउनुभयो । विशेषगरी आत्मसम्मानका लागि सहकार्य ९क्याड० जुम्लाले तीन वर्षदेखि सबै क्षेत्रलाई छाउपडी कुप्रथा अन्त्यको अभियानमा लाग्न जागरण अभियान चलाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button