केरौँजामा पहिरो, भूकम्पपीडितले गाउँ छाडे

 पोखरान्युजडटकम, १६ असार –

गाउँमाथिको डाँडाबाट निरन्तर पहिरो झरेपछि उत्तरी गोरखाको केरौँजा–१ का ११३ ओटा टहरोमा बसोबास गर्दै आएका भूकम्पपीडितले गाउँ छाडेका छन् ।

गाउँमाथिको रानीवनबाट खसेको पहिरोले टहरोमा क्षति पु¥याएपछि गाउँले बुधबार दिउँसोदेखि टहरा छाडेर स्थानीय जङ्गलको खाली चौरमा बस्दै आएका छन् । गत वर्ष असार ११ र भदौ ५ मा गएको पहिरोले केरौँजा–४ को पूरै बस्ती बगाएको थियो । गाउँबाट विस्थापित भएका १३७ घरधुरीका गाउँले वडा नं १ को जग्गामा टहरो बनाएर बस्दै आएका थिए ।

असार लागेसँगै पानी पर्न सुरु गरेपछि दिनहुँ पहिरो खसिरहेको बताउँदै केरौँजा–१ की सानु घलेले भन्नुभयो, “ठूलो आवाजसहित पहिरो खस्छ ।” गाउँमाथिको डाँडाबाट पहिरो खस्ने क्रम नरोकिएपछि गाउँले सुरक्षित ठाउँको खोजी गर्दै जङ्गल पुगेका हुन् । केरौँजा–४ का काजी गुरुङका अनुसार भूकम्पले चिराचिरा बनाएको जमिनमा गाउँलेले टहरा बनाएका थिए । भूकम्पले घरमा क्षति र पहिरोले जमिन बगाएपछि केरौँजावासी सुरक्षित आवासको खोजीमा छन् ।

बुधबार झरेको पहिरोले केरौँजास्थित नेपाली सेनाले हालै निर्माण गरेको अस्थायी सामूहिक आवासमा पनि क्षति पुगेको छ । पहिरोले क्षति पु¥याएको केरौँजा र उहिया गाविसको खोर्लाबेसीको स्थलगत अवलोकन गरेर सदरमुकाम फर्किनुभएका प्रमुख जिल्ला अधिकारी नारायण भट्टले पहिरोको उच्च जोखिममा रहेका गाउँ सुरक्षित स्थानमा सार्नुपर्ने बताउनुभयो । पहिरोले उहिया–१ खोर्लाबेसीका भक्तबीर घलेको टहरो पुरेको छ ।

खोर्लाका २१ ओटा टहरा पहिरोको उच्च जोखिममा छन् । बुधबार बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले केरौँजा र उहियाको खोर्लाबेसीमा स्थानीयवासीलाई सहयोग गर्न सुरक्षा फौज राख्ने निर्णय गर्नुका साथै पहिरोपीडितलाई त्रिपाल लगायतका सामग्री तत्काल उपलब्ध गराउने निर्णय गरेको प्रजिअ भट्टले बताउनुभयो ।

पहिरोले केरौँजा, उहियाका साथै लापु, मान्वु, काशीगाउँलगायत उत्तरी भेगका विभिन्न गाविसमा रहेका भूकम्पपीडितका टहरामा क्षति पुरयाएको छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button