पर्वतमा ७५ विवाहित जोडीको सम्बन्धविच्छेद

फलेवास (पर्वत), २० साउन –

पछिल्ला केही वर्षयता पर्वत जिल्लामा सम्बन्धविच्छेद गर्ने युगल जोडीको सङ्ख्या बढ्दै गएको छ । पारिवारिक रुपमा विभिन्न मतभेद र बेमेलका कारण सम्बन्धविच्छेद गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

जिल्लामा आर्थिक वर्ष २०७२-७३ मा ७५ विवाहित जोडीले सम्बन्धविच्छेद गराएका छन् । आव २०७२-७३को साउन महिनादेखि असार मसान्तसम्म ७५ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएको पर्वत जिल्ला अदालतले जानकारी दिएको छ ।

अघिल्लो आव २०७१-७२ मा भन्दा आव २०७२-७३मा ७५ प्रतिशत बढीले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराएको जिल्ला अदालतले जनाएको छ । आव २०७१-७२ जम्मा ४८ जनाले सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका थिए । तीमध्ये ४३ वटा मुद्दा फछ्र्योट भएका थिए । सम्बन्धविच्छेदका अधिकांश घटना फछ्र्योट भइसकेको जिल्ला अदालत पर्वतका मुख्य न्यायाधीश मोहनराज भट्टराईले जानकारी दिनुभयो ।

श्रीमान् वैदेशिक रोजगारीमा जानु, घरेलु हिंसा सहन नसक्नु, श्रीमतीले सोझै अदालतमा गएर मुद्दा दर्ता गर्दा सहज हुने भएकाले पनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको जिल्ला अदालत पर्वतले जनाएको छ । ग्रामीण क्षेत्रका परिवारमा चेतनाको विकास नहुनु, नारी पुरुष समान, महिला अधिकारका कुराहरु, सम्पत्ति तथा अंशलगायतका कारणले सम्बन्धविच्छेद बढेको हो ।

सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराउनेमा महिलाकै सङ्ख्या उल्लेख्य रहेको छ । यस वर्ष दुई जना पुरुषले मात्र सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएका छन् भने बाँकी सबै महिलाले नै मुद्दा दिएको अदालतले जनाएको छ ।

पुरुष सम्बन्धविच्छेदका लागि अदालतमा आउने धेरै खालका प्रक्रिया पु¥याउनुपर्ने भएकाले र पुरुषले सम्बन्धविच्छेद गर्न खोज्दा महिला तथा घरेलु हिंसालगायतका प्रश्न पनि उब्जिने भएकाले महिला नै बढी मात्रामा सम्बन्धविच्छेदका मुद्दा लिएर आउने गरेको कार्यालयले जानकारी दिएको छ ।

सूचना प्रविधिको विकाससँगै मोबाइल र फेसबुक, ट्विटरजस्ता सामाजिक सञ्जालले पनि परिवारमा बेमेलको अवस्था सिर्जना गर्ने गरेको पाइएको कानुन व्यवसायीको भनाइ रहेको छ । अर्कोतिर दाइजो र बाबुआमाको दबाबमा विवाह गर्नुपर्नेलगायतका कारणले पनि सम्बन्धविच्छेदलाई बढावा दिएको छ ।

समाजमा शिक्षाको विकास हुने र महिला अधिकारका सवालको प्रचारप्रसार बढ्दै गएकाले पनि परिवारमा सामान्य समस्या आउनेबित्तिकै श्रीमान्–श्रीमती अलग हुने गरेका छन् । कतिपय महिला श्रीमान्सँग अंश लिएर विच्छेद गर्ने गरेका छन् भने कतिपयले सिधै अर्को विवाह गर्ने गरेको पनि अदालतले जनाएको छ । रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button