गाईजात्रामा नेतालाई सुझाव – राजनीतिलाई पेसा नबनाऊ

काठमाडौँ, ३ भदौ –

पैसा कमाउने उद्देश्य लिएर राजनीतिमा लागेका नेतालाई अन्य पेसा र व्यवसायमा लाग्न कलाकारले सुझाव दिएका छन् ।

गाईजात्राको अवसरमा आज रिपोर्टर्स क्लब नेपालले यहाँ आयोजना गरेको साक्षात्कारमा बोल्दै कलाकारले राजनीतिमा मौलाएको विकृति, विसङ्गतिलाई अन्त्य गराउन व्यङ्ग्यात्मक शैलीमा आग्रह गर्दै राजनीतिलाई पेसा नभई सेवाको भावमा लिएर काम गर्न नेतालाई सुझाव दिनुभएको हो ।

कलाकार मनोज गजुरेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई अब ठूला माछा समात्ने गरी काम गर्न व्यङ्ग्यात्मक रुपमा सुझाव दिनुभयो । कलाकार शैलेन्द्र सिंखडाले शत्रु हँसाएर, राष्ट्र रुवाउने कुरा दःुखद् भएको बताउँदै यसको अन्त गरिनुपर्नेमा जोड दिनुभयो ।

कलाकार दीपकराज गिरीले कलाकार अरुलाई मिलेनन् भनेर सन्देश दिने तर हामी कलाकार आफैँ एकअर्कासँग बोलाचालसम्म नगर्ने चलन रहेको उल्लेख गर्दै यस वर्षदेखि एउटै छानामा गाईजात्रा मनाउने प्रण गर्नुभयो ।

जितु नेपालले पहाडी, मधेसी हैन हामी सबै नेपाली हौँ भन्ने गहिरो भावले सिञ्चित भए पनि व्यक्तिगत र दलगत स्वार्थका लागि मरिहत्ते गर्ने गलत प्रवृतिले देशको भविष्य धरापमा परेकामा चिन्ता व्यक्त गर्नुभयो । “धन कमाउनु नै छ भने अन्य पेसामा लाग्नुपरयो, राजनीतिलाई नै कमाइ खाने ठाउँ बनाउनुभएन”– उहाँले भन्नुभयो ।

कार्यक्रममा हाँस्य कलाकार दमन रुपाखेती, शिवहरि रिजाल (जोगिन्दर) र लोकगायिका बबिता बानियाँले समसामयिक राजनीतिक विषयमा ब्यङ्ग गर्नुभएको थियो ।

यसैबीच क्लबले आजै आयोजना गरेको कार्यक्रममा सांसद एवम् काँग्रेस नेता रामहरि खतिवडाले आइतबारसम्म पार्टीका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम सार्वजनिक हुने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button