शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन – एमाले

काठमाडौँ, ३ भदौ –

नेकपा (एमाले) स्थायी कमिटीको आजको बैठकमा केही नेताले विभिन्न शक्तिको प्रलोभनका कारण नयाँ सत्ता गठबन्धन बनेको बताउनुभएको छ ।

यही आइतबारदेखि जारी एमाले बैठकमा आज आफ्नो नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समीकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समीक्षात्मक धारणा राख्ने क्रममा सो कुरा बताइएको हो ।

अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय धुम्रबाराहीमा बसेको बैठकमा एमालेले दीर्घकालसम्म सो गठबन्धन कायम राख्न चाहे पनि शक्ति केन्द्रको प्रलोभनका कारण नेकपा (माओवादी केन्द्र) लाई नयाँ ठाउँमा पुरयाएकाले नै समीकरण बदलिएको धारणा राखिएको छ ।

बैठकमा आज नेता विष्णु पौडेल, सुवास नेम्वाङ र छविलाल विश्वकर्माले आआफ्ना धारणा राख्नुभएको पार्टीका सचिव योगेश भट्टराईले जारी गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको लगायतका उपलब्धि हासिल भएको वक्ताले जनाउनुभएको थियो ।

सामान्य कमिकमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा सङ्गठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने बैठकले जोड दिएको छ । स्थायी समितिको बैठक यही भदौ ५ गते पुनःबस्नेछ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button