
पोखरा, २२ भदौ –
पोखरा उद्योग वाणिज्य संघको ३१ महाधिवेशनको तयारी तिव्र पारिएको छ । यही भदौ ३१ र असोज १ गते हुने महाधिवेशनको तयारी तिव्र पारिएको संघले जनाएको छ ।
उम्मेदवार उपर दाबी विरोध कसैको नपरेको निर्वाचन समितिका संयोजक दीपक श्रेष्ठले बताए । बुधबार बिहान ११ बजेदेखि अपरान्ह २ बजेसम्मको लागि उम्मेदवार उपर दाबी विरोध समय तोकिएको थियो । भदौ २३ गते बिहान ११ बजेदेखि ४ बजेसम्म उम्मेदवारी फिर्ताको समय तोकिएको छ । सोही दिन ५ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । भदौ २५ गते उम्मेदवारको परिचय कार्यक्रम राखिएको समितिले जनाएको छ ।
अध्यक्षसहित पदाधिकारी ७, खुल्ला सदस्य १०, कर्पोरेटतर्फ २ र उद्योग १ गरी २४ सदस्यमा निर्वाचन हुनेछ । अध्यक्षले मनोनीत गर्ने ४ र निर्वतमान अध्यक्षसहित संघको कार्यसमिति २९ सदस्यीय हुने विधानमा व्यवस्था छ । उद्योग वाणिज्य संघमा २ हजार ७ सय ४९ मतदाता मध्ये साधारण २ हजार ६ सय २७, उद्योग ४५, कर्पोरेट ५४ र वस्तुगत २३ सदस्य छन् । अध्यक्षमा रेडियो अन्नपूर्णका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, माछापुछ्रे एफएम का संचालक देव क्षेत्री, रेडियो जननीका संचालक हिरा भट्टराई ३ जना संचार उद्यमी सहित ईश्वरप्रसाद कर्माचार्य, धनिराम बराल र नारायण कोइराला उम्मेदवारी दिएका छन । सघंको वरिष्ठ उपाध्यक्षमा मीनराज काफ्ले र रवीन्द्रबहादुर प्रजुले उम्मेदवारी दिएका छन् । वाणिज्यतर्फको उपाध्यक्षमा केदारनाथ भट्टराई, बिन्दु कोइराला सुवेदी र सुरेश अधिकारीले उम्मेदवारी मनोनयनपत्र दर्ता गरेका छन् । उद्योगतर्फको उपाध्यक्षमा सीता गुरुङ र गोर्कण कार्कीले उम्मेदवारी दिए । महासचिवमा दामु अधिकारी र लक्ष्मी क्षेत्री पाण्डेको उम्मेदवारी परेको छ । पाण्डे नेपाली कांग्रेस कास्कीका कोषाध्यक्ष पनि हुन् ।





