
पोखरा, २६ भदौ –
पर्यटन प्रवद्र्धनका लागि पोखरामा ‘टुर दि पोखरा–२०१६’ हुने भएको छ । साईकल सिटी पोखराको आयोजनामा आगामी असोज ८ गते शनिबार ‘साइकल चढौं–स्वास्थ्य, वातावरण र पर्यटनका लागि’ भन्ने नाराका साथ ‘टुर दि पोखरा’को दोश्रो श्रृङ्खला गरिन लागेको आइतबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
कार्यक्रम अन्तर्गत असोज ८ गते शनिबार विहान बृहद् साइकल ¥याली निकालिनेछ । विहान साढे ६ बजे पोखराको पर्यटकीय केन्द्र लेकसाईडको वराहीघाटबाट लेखनाथको बेगनासताल पुगेर समापन हुनेछ । कार्यक्रम उपसमितिका संयोजक नीरज थापाका अनुसार रयाली वराहीघाटबाट शुरु भई हल्लनचोक, जरेवर, सिर्जनाचोक, सिमलचौर, बगालेटोल, गणेशटोल, नालामुख, भिमसेनटोल, भैरवटोल, मोहरियाटो, बिन्ध्यबासिनी, बागबजार, बगर, ट्याक्सीचोक, भिमबजार, पृथ्वीनारायण क्याम्पस, नदीपुर, पालिखेचोक, महेन्द्रपुल, नयाँबजार, पृथ्वीचोक, पोखरा रंगशाला, अमरसिंहचोक, चाउथे, बिजयपुर, बुढीबजार, अर्घौं, तालचोक, भण्डारढिक, पोखरा विश्वविद्यालय, सिसुवा, बेगनास बजार हुँदै बेगनास डुंगाघाटमा पुगेर समापन हुनेछ ।
प्राकृतिक रुपले सिंगारिएको पोखराको पर्यटन प्रवद्र्धन गर्नु नै कार्यक्रमको प्रमुख उद्धेश्य रहेको उपसमिति संयोजक निरज थापाले प्रष्ट्याए । यद्यपी साइकल चढ्दा वातावरण प्रदुषण पनि नहुने र व्यक्ति स्वयम् पनि स्वस्थ रहनेबारे जनचेतना जगाउनुपनि कार्यक्रमको उद्धेश्य रहेको बताए ।
कार्यक्रमका बरिष्ठ सल्लाहकार तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष आनन्दराज मुल्मीले ‘टुर दि पोखरा’ कार्यक्रम सम्पूर्ण पोखरेलीको भएको बताउँदै यसलाई सफल पार्नु सबैको दायित्व भएको बताए । उनले कार्यक्रममा यस वर्ष कास्की बाहिरका जिल्लाकाहरु पनि सहभागि हुने दाबी गर्दै यसलाई अब अन्र्तराष्ट्रियकरण गरेर पर्यटक तान्नुपर्ने धारणा व्यक्त गरे । आगामी वर्षमा अन्य देशकालाई पनि समेट्नेगरी कार्यक्रम गरिने बताए ।
कार्यक्रममा सहभागि हुन चाहनेले अग्रिम नाम दर्ता गर्नुपर्ने आयोजकले जनाएको छ । आयोजकका अनुसार भदौ ३० गतेसम्ममा नाम दर्ता गराए ६ सय ५० रुपैयाँ तिरेपुग्छ भने त्यसपछि नाम दर्ता गर्नेले थप एक सयसहित कुल ७ सय ५० रुपैयाँ तिर्नुपर्नेछ । अग्रिम रजिष्ट्रेसन गर्नेले एउटा आकर्षक प्राप्त गर्ने आयोजकले जनाएको छ । यद्यपी जर्सि नलिई कार्यक्रममा सहभागि हुन चाहनेले रु २ सयमै रजिष्ट्रेसन गर्न सक्ने कार्यक्रमका मूल संयोजक प्रकाश बज्राचार्यले जानकारी दिए ।
कार्यक्रम सम्पन्न गर्न करीब ११ लाख ५० हजार लाग्ने अनुमान गरिएको बज्राचार्यले बताए । जयन्ती मेमोरियल ट्रष्टको विशेष सहयोग रहने ‘टुर दि पोखरा–२०१६’ कार्यक्रमलाई नेपाल पर्यटन बोर्ड, लेखनाथ नगरपालिका, पोखरा उप–महानगरपालिका, पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, जिल्ला साईक्लिष्ट संघ, जिल्ला खेलकुद विकास समिति कास्की, नेपाल साइक्लिष्ट महासंघ, बाबा फाउण्डेसन, जिल्ला विकास समिति कास्कीलगायतका विभिन्न संघसंस्थाको सहयोग रहेको आयोजकले जनाएको छ ।





