पोखरामा ‘वृहत शैक्षिक मेला’ शुरु

पोखरा, २७ भदौ –

पहिलो दिन पाँच हजार बढि विद्यार्थीको सहभागिता

पोखरामा सोमबारदेखि ‘वृहत शैक्षिक मेला’ शुरु भएको छ । वान अप ईभेन्ट्स एण्ड मिडिया सोल्युसनको आयोजनामा भएको मेला २९ गते बुधबारसम्म चल्नेछ ।

सोमबार मेलाको संचार उद्यमी तथा शैक्षिक परामर्श व्यवायी महेश भण्डारी, कंगारु एजुकेशन फाउन्डेशन पोखरा शाखाका प्रमुख कार्यकारी टि.आर. काफ्ले र ईम्पल्स ईन्टरनेशनल ईन्स्टिच्यूटका प्रबन्ध निर्देशक सन्दिप अर्यालले सँयुक्त रुपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटनसँगै विग एफएमका अध्यक्षसमेत रहेका संचारउद्यमी भण्डारीले मेलाको सफलताको कामना गरे । ‘यस क्षेत्रमा वैदेशिक अध्ययनका लागि जान चाहने थुप्रै विद्यार्थीहरु छन् ।’ उनले भने–‘उनीहरुसँगै अभिभावकहरुका लागि पनि मेला निकै फलदायी छ । मेलाबाट प्रत्यक्ष लाभ लिन म सबैसँग आग्रह गर्छु ।’

त्यस्तै काफ्ले र अर्यालले पनि मेला परामर्श व्यवसायी, विद्यार्थी र अभिभाव सबैका लागि फाईदाजनक भएको बताए । उनीहरुले तीन दिनसम्म चल्ने मेलामा सहभागिताका लागि आग्रह गरे ।

ग्लामर र पर्यटनको हिसाबले मात्रै ईभेन्ट भैरहने पोखरामा शैक्षिक ज्ञान दिने खालको कार्यक्रमहरु कमै हुने देखेपछि आफुहरुले यस्तो खाले मेलाको आयोजना गरेको आयोजक वान अपले बताएको छ । ‘निशुल्क रुपमा विद्यार्थीहरुलाई वैदेशिक अध्ययनको परामर्श लिन पाउनका लागि यो मेला उत्कृष्ट गन्तब्य हो ।’ वान अपका प्रमुख कार्यकारी अधिकृत रविशंकर झाले बताए ।

सोमबार पहिलो दिन मेलामा करिब पाँच हजार विद्यार्थी तथा अभिभावकहरुले सहभागिता जनाएको आयोजकले बताएको छ । मेलामा शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बांगलादेश, जापान, फ्रान्स, अमेरीका, बेलायत, न्युजील्याण्ड, अष्ट्रेलिया, आयरल्याण्ड, नर्वे, फिनल्याण्ड, मलेसिया, जर्मनी, रुस, डेनमार्क लगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारीक प्रतिनिधिहरुले विभिन्न ३६ वटा स्टलबाट विद्यार्थीहरुलाई परामर्श दिईरहेका छन् ।

त्यो सँगै मेलामा सहभागिता जनाउने विद्यार्थीहरुका लागि ‘हात खाली नजाने’ उपहार योजना पनि आयोजकले ल्याएको छ । सोमबार पहिलो दिन एक हजार जना विद्यार्थीहरुले विभिन्न खाले गिफ्ट ह्याम्पर समेत प्राप्त गरे । त्यस्तै मेला अवधीभर परामर्शका लागि आएका विद्यार्थीहरुमध्ये लक्की ड्रमार्फत मेलाको अन्तिम दिन एक जना विद्यार्थीले ल्यापटप बम्पर उपहारस्वरुप पाउनेछन् । पश्चिमाञ्चल क्षेत्रबाट वर्षेनी १ हजार भन्दा बढि विद्यार्थीहरु उच्चशिक्षा अध्ययनका लागि विदेश जाने गरेको तथ्याङ्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button