तमू साँस्कृतिक प्रतिष्ठानको छात्रवृत्ति भूकम्पपीडित बालबालिकालाई

पोखरा –

तमू साँस्कृतिक प्रतिष्ठान नेपालले वि.सं. २०६६ साल देखि विभिन्न दाताहरुद्वारा स्थापना गरेको अक्षयकोषबाट माध्यमिक तहका कक्षा ८,९ र १० का ‘गरिब तथा जेहेन्दार तमू विद्यार्थी छात्रवृत्ति’ वितरण गर्दै आइरहेको छ । सो छात्रवृत्ति आगामी दुई वर्षका लागि भूकम्पबाट प्रभावित गोरखा र लमजुङ्ग जिल्लामा वितरण गर्ने संस्थाको निर्णय भए पश्चात गत फाल्गुण २५, २६ र चैत्र ५ गते सम्वन्धित जिल्लाहरुमा सम्पन्न छुट्टाछुट्टै छनौट परीक्षामा कुल २३ जना विद्यार्थी उत्कृष्टताको आधारमा छनौटमा पर्न सफल भएका थिए ।

जस मध्ये गोरखा जिल्लाका १० गा.वि.स. बाट ११ जना विद्यार्थी रहेका छन् । छात्र वृती विद्यार्थीहरुलाई तमू प्ये ल्हु संघ, गोरखाको सहयोगमा छात्रवृत्ति वितरण गरिएको छ । सदरमुकाम गोरखामा आयोजना गरिएको उक्त कार्यक्रममा आमन्त्रित पाहुनाहरुले छनौटमा परेका विद्यार्थीहरुलाई नगद ८ हजार र प्रशंसापत्र वितरण गरिएको प्रतिष्ठानले जनाएको छ । उनीहरुले वार्षिक परीक्षामा राम्रो नतिजा ल्याएमा कक्षा ९ र १० मा समेत सो छात्रवृत्ति निरन्तर प्राप्त गर्ने भएका छन ।

छात्रवृती कार्यक्रममा तमू प्ये ल्हु संघका अध्यक्ष धन बहादुर तमूले दुई वर्षको लागि प्रतिष्ठानले लमजुङ्ग र गोरखालाई छानेकोमा खुसी व्यक्त गरे । त्यसै गरी तमू ह्युल छोंज धीं गोरखा नगर कमिटीका अध्यक्ष डिलमान तमूले भूकम्पबाट भौतिक र मानसिक रुपमा विक्षिप्त दुर्गम भेगका विद्यार्थीहरुलाई छात्रवृत्ति उपलब्ध गराउनु एउटा सह्रानीय काम भएको बताए । संयोजकको रुपमा सहयोग गर्दै आएका तमु प्ये ल्हु संघका उपाध्यक्ष राजन तमूले यस पटक भूकम्पबाट प्रभावित विकट जिल्लाका तमू छात्रछात्राहरुलाई सक्दो समेटने प्रयास गरिएको बताए ।

श्री आहाल भञ्ज्याङ्ग मा.वि. थालाजुङका प्र.अ. जित बहादुर अधिकारीले तमूका बच्चाहरु पनि अनुकुल वातावरण पाएमा राम्रो नतिजा ल्याउन सक्ने कुरा आफनै विद्यालयकी एक छात्राले उच्च अंक ल्याएर प्रमाणित गरेको बताए । प्रतिष्ठानका उपाध्यक्ष चित्र तमूले शिक्षा सबैको लागि अपरिहार्य रहेको कुरा बुझ्न जरुरी रहेको बताए । अध्यक्ष चिजकाजी तमूले तमू समुदायमा शिक्षा प्रतिको विकर्षणलाई न्यूनीकरण गर्ने प्रयासमा प्रतिष्ठान लागिरहेकोमा सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।

गोरखाको करौजा, घ्यालचोक, बारपाक, लापु, केरावारी, गुम्दा, कल्लेरी, सिर्दीबास, खरीबोट र थालाजुङका कुल ५ जना छात्र र ६ जना छात्राले तमू धीं यू.के., गुरुङ्ग समाज कतार, कमल तथा पुनम तमू, रामचन्द्र तथा पवित्र तमू, सचिन तमू, वत्ति तथा स्व. मन तमू, दिलिप तथा हेमा तमू, हिमाल तथा हेमा तमू तथा डा.चन्द्र तथा महेश तमू शिर्षकको छुट्टाछुट्टै अक्षयकोषबाट माथि उल्लेखित छात्रवृत्ति वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button