पोखरा उपमहानगरपालिका कार्ययोजना अनुसार निर्माण गरेर अघि बढ्ने

पोखरा –

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत नवराज ढुंगानाले नगरको विकासका लागि तत्कालीन, मध्यकालीन र दिर्घकालीन गरि तीन खाले योजना बनाएर अघि बढ्ने बताएका छन् ।

बहस केन्द्र नेपाल पोखराले संस्थाको कार्यालय गैह्रापाटनमा बिहीबार आयोजना गरेको छलफल कार्यक्रममा बोल्दै ढुंगानाले योजनाहरु सफल पार्न सबैको सहयोग आवश्यक रहेको बताएका हुन् । हालै नगरको कार्यकारी अधिकृतमा नियुक्त भएका उनले यस क्षेत्रमा रहेको फुटपाथ अतिक्रमण अन्त्य, व्यवस्थित पार्किङ, छाडा चौपाय नियन्त्रण लगायतका कार्यक्रम थाल्न आफुले तीन चरणका कार्ययोजना सुरु गर्ने जानकारी दिए ।

कार्यक्रममा बोल्दै उनले नगरपरिषदबाट स्वीकृत योजनालाई कार्यान्वयन गर्नुनै आफ्नो प्रथम दायित्व रहेको बताए । उनले नगरपालिका कार्यालयले प्रदान गर्ने सेवा व्यवस्थित बनाउँदै लैजाने बताए । कार्यालयका भौतिक पूर्वाधारहरुलाई व्यवस्थित एवं अपाङमैत्री बनाउँदै लैजानेमा उनले जोड दिए ।

अधिकृत ढुंगानाले एकिकृत सम्पत्ति कर वृद्धिबारे उचित छलफल र परामर्श लिने बताए । बिहीबारबाटै नगरपालिकाले विजयपुरदेखि पृथ्वीचोकसम्मको बाटोमा भएको सडक अतिक्रमण हटाउन सूचना जारी गरेको जानकारी दिँदै कानून कार्यान्वयन गर्न सबैले सहयोग गर्ने विश्वास व्यक्त गरे ।

आयोजक संस्थाका संयोजक अनुपप्रकाश पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नागरिक समाजका अगुवाहरुले नगरपालिकाका कामकारवाहीबारे सुझाव दिएका थिए । नागरिक समाज पोखराका संयोजक रामबहादुर पौडेलले पोखराका विभिन्न भेगमा रहेको सार्वजनिक जग्गाजमिन अतिक्रमण भएको भन्दै अधिकृत ढुंगानाको ध्यानाकर्षण गराएका थिए । पोखराको सार्वजनिक जग्गा अतिक्रमण गर्न भू–माफिया सक्रिय रहेको अवगत गराउँदै उनले माफियाराज अन्त्य गर्न माग गरे ।

टोल विकास संस्था समन्वय समितिका अध्यक्ष उज्ज्वल खत्रीले पोखराका २९ वटा वडामा पाँच सय वटा भन्दा बढी टोल विकास संस्था आवद्ध रहेको जानकारी दिए । टोल विकास संस्थाहरु नगरपालिकासँग समन्वय गर्दै काम गर्न तयार रहेको उनले बताए । उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइरालाले नगरपालिकामा खाद्य निरीक्षण अधिकृत आवश्यक रहेको औँल्याए । एकिकृत सम्पत्ती कर अव्यवहारिक रहेको बताउँदै त्यसमा पुनःविचार गर्न उनले सरकारको ध्यानाकर्षण गराए । प्रगति नगर टोल विकास समितिका अध्यक्ष प्रकाश भुजेलले पोखरा विमानस्थलको पछिल्तर्पmको बाटोको अवस्था सुधार्न माग गरे ।

नागरिक अगुवाहरु शिवप्रसाद गौतम, मन्दरा ढकाल, सुशीला वाग्ले, सीता गुरुङ, पोखरा उपत्यका नगर विकास समितिकी सदस्य माया पराजुली, पत्रकारहरु यज्ञराज पौडेल, कमल पौडेल अथक, उदयबहादुर अमात्य लगायतले मन्तव्य राखेका थिए । सरिता तिमिल्सिना पंगेनीले कार्यक्रमको महत्वबारे प्रकाश पारेकी थिइन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button