पोखराका सडक पेटिका सबै बेवारिसे व्यक्तिले शनिबार देखि आश्रम पाउने

डीएनबी, पोखरा न्युज – १४ चैत ।

पोखराको सडक पेटिमा रहेका बेवारिसे मानिसहरुले यही चैत्र १७ गते शनिबारदेखि आश्रय पाउने भएका छन । विगत ५ बर्ष अघि मात्र मकवानपुरमा स्थापना भएको सामाजिक संस्था मानवसेवा आश्रमले पोखरा क्षेत्रको सडक पेटिमा खुल्ला आकास मुनि रहेकाहरुको लागि शनिबार देखि आश्रय दिने भएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराएको हो ।

सडक जीवन व्यतीत गर्न विवस मानिसहरूको स्वतन्त्र रुपमा बाँच्न पाउने अधिकारलाई सुनिश्चित गर्ने उद्धेश्यले पोखराको सडक पेटिकमा रहेका मानिसहरुलाई मानवसेवा आश्रमले शनिबार देखि पोखराको छोरेपाटन डेबिडफल्स स्थित आश्रममा रेखदेख सहित पालनपोषण गर्ने भएको पोखराका कार्यक्रम संयोजक होमनाथ तिमिल्सिनाले बताए ।

सवैको लागि खाना, छाना र नाना भन्ने भावनालाई आत्मसात गर्दै आश्रमले पोखरामा आफ्नो नवौं शाखाको रुपमा शनिबार देखि पोखरा सडक पेटिमा रहेका करिब ६० जनालाई सामुहिक उद्धार गरी उक्त आश्रममा राखिने तयारी भएको उनले जनाए । नेपाल सरकारका पर्यटन मन्त्री रविन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा र संस्थाका प्रमुख संरक्षक डा. गोविन्द टण्डनको अध्यक्षतामा उक्त कार्यक्रम आयोजना गर्ने तयारी गरिएको कार्यक्रम संयोजक तिमिल्सिनाले बताए ।

पोखराको खुल्ला आकासमुनि रात विताउन विवश बेवारिसे सहयोगापेक्षी सडक मानव (लक्ष्मी,नारायण) हरुको सामुहिक उद्धार, स्वास्थ्य परिक्षण पश्चात शनिबार सहभोज एवं मानवसेवा आश्रममा गृहप्रबेश गराउने भएको पोखराका कार्यक्रम संयोजक तिमिल्सिनाले बताए । उनका अनुसार शनिबार विहानै पोखरा क्षेत्रका सडक पेटिमा रहेका वा भेटिने बेवारिसे मानिसिहरुलाई उक्त आश्रममा ल्याई नुहाई धुहाई गरी सरसफाइका साथ विभिन्न सामाजिक व्यत्तित्वको माझमा सामुहिक खाना खाने कार्यक्रम हुने भएको हो ।

मनसिक सन्तुलन गुमाएकाहरुको लागि चिकित्सकहरुबाट परामर्श सहितको औषधि उपपचार गर्ने, प्राकृतिक उपचार, ध्यान, योग जस्ता कार्यक्रमबाट उनीहरुलाई आश्रममा बस्ने वातावरण तयार पारिने भएको संयोजक तिमिल्सिनाले बताए । पोखरा पब्लिक स्कुल रहेको पहिलाको पुरानो भवनमा हाल मर्मत संहार सहितको हरियो रंग लगायर आश्रमका लागि २७ वटा कोठाहरु तयार पारिएको आश्रमका केन्द्रिय अध्यक्ष रामजी अधिकारीले बताए । ७ रोपनी सहितको उक्त भौतिक संरचना मासिक ८० हजार भाडामा तिर्ने गरी हाल आश्रमले पोखरामा नर्वौं शाखाको रुपमा आश्रम संचालन गर्ने तयारी गरेको हो ।

परिवारले कर्तव्य पालना नगरेर, गरिब, पारिवारीक, मानसिक सन्तुलन गुमाएका मायाको अभावमा सडक पेटिमा आएकाहरुको स्वदेशी विभिन्न दाताको मुठी दानले आफुहरुले उनीहरुको उद्धार गरी पालनपोषण सहित सम्भव भएकाहरुको लागि पारिवारिक मिलन समेत गराउने भएको अध्यक्ष अधिकारीले बताए ।

आश्रमका प्रवक्ता सुमन वर्तौलाले आफुहरुले कुनै सर्त विना हालसम्म विदेशी दाताको कुनै सहयोग समेत नलिएको बताउदै आगामी दिनमा पनि सर्त विना विदेशीको कुनै सहयोग नलिने दाबी गरे । उनले भने “ हाम्रो अभियान २०६९ सालमा मकवानपुर हेटांैंडाबाट सुरु भएको यो अभियान आज काठमाण्डौं सहितका ८ ठाँउमा शाखा विस्तार भएको छ, यो सवै नेपाली सहयोगी मनको कारणले, मुठ्ठी दानले गर्दा यो अभियान यहाँसम्म आएको हो । ” हालसम्म विभिन्न शाखामा गरी एक हजार जना आश्रित रहेकोछन भने हालसम्म २ सय ५० जनालाई परिवारमा पुनरमिलन गराइएको उपाध्यक्ष धर्मप्रसाद पौडेले बताए । आफुहरु निःस्वार्थ भावले मानविय कार्यमा जुटेको बताउदै उनले यस्तो कार्यमा जुट्न सर्वमा आग्रह गरे ।

आश्रमका मुख्य अभिभावक राजेस फुयालका अनुसार पोखरा क्षेत्रको सडकमा करिब एक सय ५० जना जसो वेवारिसे मानिसहरु भेटिन्छन । घरवार विहिनै भएका र विहान वेलुका एक छाक पनि खान नपाउनेको सङख्या हेर्दा करिब ६० जना जसो रहेको फुयालले जनाए । सीपमूलक तथा आयमूलक स्वरोगार कार्यक्रम अन्तर्गत तालिमहरू संचालन गरी आश्रितहरूको व्यक्तित्व विकासमा सहयोग पुर्याउने आफुहरुको योजना समेत रहेको उनले बताए । बिहान बेलुका प्रत्येक छाकमा एक जनाले एक मुठ्ठीको दरले चामल वा नगद एक(एक रुपैयाँ छुट्टयाएर महिना दिनमा एक पटक मानवसेवा आश्रममा सकेसम्म आफै गई समर्पण गर्न आश्रम परिवारले आग्रह गरेको छ ।

उक्त संस्थाको मकवानपुर सहित चितवन, काठमाण्डौं, ललितपुर, गोर्खा, लमजुङ्, पर्सा, बागलुङमा शाखा विस्तार भइसकेको र केहि समय पछि १० औं शाखा वुटवलमा स्थापना हुने तयारी भएको बताइएको छ  ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button