स्याङजाको फेदीखोलामा क बर्गको प्राइम बैंकको शाखा

 

स्याङजाको फेदीखोला गाँउपालिकामा क बर्गको पहिलो बैंकको रुपमा प्राइम कमर्सियल बैंकको शाखा स्थापना भएसँगै स्थानीय खुसी भएका छन्।

क बर्गको बैंकमा कारोवार गर्न फेदीखोला गाँउपालिकाबाट करिब १७ किलोमिटर टाढा स्याङजाको सदरमुकाम जानुपर्ने बाध्यता उक्त बैंकको शाखा स्थापना सँगै धेरै सहज हुने भए पछि स्थानीयमा खुसि छाएको हो।

फेदीखोला गाँउपालिकाका उपाध्यक्ष देवि थापाले स्थानीय सरकार बनिसके पछि आफुहरुले क बर्गको बैंकको सेवा लिनको लागि १७ किलोमिटर टाडा स्याङजाको सदरमुकाम पुग्नु पर्ने बाध्यता अब बाट हटेको बताईन। बैंक स्थापना भएसंगै स्थानीय तहमा जनतालाई सहज ढंगले छिटो छरितो रुपमा सेवा दिन आग्रह गर्दै उनले उक्त बैंकसंग सहकार्य गर्न स्थानीय तयार रहेको पनि बताईन ।

फेदीखोला गाँउपालिकाका प्रमुख कार्यकारी अधिकृत भिष्मराज अर्यालले फेदीखोला गाँउपालिका सुगम गाँउपालिका सिद्धार्थराजमार्गसँगै जोडिएको भए पनि हालसम्म क बर्गको बैंकहरु नहुदा आफुहरुलाई वित्तीय कारोवार गर्न कठिन भएको अबस्थामा उक्त बैंकको शाखा बिस्तारले अब देखि धेरै सहज हुने बताए ।

यसैबीच, बैंकका महाप्रवन्धक संजिव मानन्धरले उक्त बैंकको ६० औ शाखा आज (विहिबार) एक समारोहका बीच उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले सरकारको क बर्गको बैंक गाँउपालिकामा जानु पर्ने नीति अनुरुप आफुहरु फेदीखोला गाँउपालिकामा आएको जनाए । उक्त शाखा स्थापनाले दुई बर्षमा स्थानीय तह र स्थानीय जनताको जीवनस्तरमा केहि सुधार हुने विश्वास उनले व्यक्त गरे । आफुहरु फेदीखोला गाँउपालिका सहितका १७ वटा गाँउपालिकामा आफ्नो शाखा विस्तार गर्ने उनले बताए । विहिबार एकै दिनमा नवलपरासीको सरावल गाँउपालिका, तौलिहवाको सुद्धोदन गाँउपालिका र रुपन्देहीको मायादेवी गाँउपालिकामा पनि बैंकको शाखा विस्तार भएको महाप्रवन्धक मानन्धरले बताए ।

उनले भने “ हामीले जनतामा सचेतना देखि सामाजिक उत्तरदाहित्व समेत वहन गर्न तयार छौं, हामी तपाईको घर गाँउमा आए पछि यसै बैंकबाट कारोवार गर्न आग्रह गर्दछु, हामीले साना तथा लघु देखि ठुला जलबिद्युतसम्मका क्षेत्रमा लगानी गरेका छौं ।”

कर्जा लिदा हप्ता देखि महिना लाग्ने पहिलाको झन्झटिलो प्रकृयाबाट मुक्त गराउने आफुहरुको प्रयास भएको महाप्रवन्धक मानन्धरले जनाए । उनका अनुसार जलबिद्युतमा मात्र करिब ६७ अर्व कर्जा लगानी भएको छ । अहिले उक्त बैंकले हाल बचतमा ८ प्रतिशत, मुद्दतीमा ११ प्रतिशत, कर्जामा १४ प्रतिशतमा लगानी गर्ने गरेको उनले जनाए । शाखा प्रमुख लेखनाथ आचार्यले फेदीखोला गाँउपालिका एक नमुना गाँउपालिका रहेको उल्लेख गर्दै स्थानीय स्तरबाट आफुहरुलाई सहयोग हुने विश्वास व्यक्त गरे । उनले अन्य कुनै पनि बैंक तथा फाईनान्सको चेक उक्त शाखाबाटै क्लियरियन्स हुने जनाए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button