म्याग्दीको नाउरा भिरमा पदमार्ग निर्माण

पोखरा न्यूज -१६, असार ।
धौलागिरि चक्रिय पदमार्गको सबैभन्दा कठिन र अप्ठ्यारो मानिने नाउराको भिरमा पदमार्ग निर्माण गर्ने कार्य सम्पन्न भएको छ ।

धौलागिरि गाउँपालिका–४ स्थित नाउरादेखि बगर गाउँको बीचमा पर्ने भिरमा पक्की र ढुङ्गे सिँढीसहितको पदमार्ग निर्माण भएको हो।

गाउँपालिकाको रु पाँच लाख र स्थानीयवासीले रु एक लाख बराबरको श्रमदान गरी कूल रु छ लाखको लागतमा २०० मिटर सो पदमार्ग निर्माण गरिएको छ । यसका साथै तीन किलोमिटर पुरानो पैदल मार्गसमेत मर्मत गरिएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर पुर्जाले बताए ।

पदमार्ग निर्माण भएपछि बगर, सिम्कोश गाउँका बासिन्दालाई आवतजावत र सामान ढुवानीमा सहज भएको छ । यसका साथै पदयात्रा र हिमाल आरोहणका लागि आउने पर्यटन, पथप्रर्दशक र भरियालाईसमेत सहज भएको छ ।

अक्करे भिरको बीचमा साँघुरो बाटो भएको नाउराको भिर म्याग्दी जिल्लाको सबैभन्दा कठिन पहाड मानिन्छ । माथिबाट ढुंगा खसिरहने यस भिरको फेदी भएर बग्ने म्याग्दी नदीको खोच छ । भिरबाट लडेर वर्षेनी एक, दुई जनाले ज्यान गुमाउने गरेका छन् ।

धौलागिरि आधार शिविर, बगर र सिम्कोश गाउँ जानका लागि यो पदमार्गको विकल्प छैन । विसं २०६६ मा नाउराको भिरमा पदमार्गको ट्र्याक खोलिएको थियो । द्वन्द्वकालमा तत्कालीन माओवादीले शुरु गरेको पदमार्ग निर्माण कार्यलाई शान्ति स्थापनापछि नेपाली सेनाको सहयोगमा विष्फोटक पदार्थको प्रयोग गरेर पहाड फुटाइ जिविसले पूर्णता दिएको थियो ।

पदमार्ग निर्माण हुनुअघि करीब तीन घण्टा उकालो घुमाउरो बाटो अथवा रसीमा झुण्डिएर पहाडमा यात्रा गर्नुपर्ने अवस्था थियो । पछिल्लो समय पदमार्ग निर्माण र सुधार गरिँदै गए पनि पर्याप्त बजेटको अभावमा अपेक्षाकृत काम हुन नसकेको बगर गाउँका अगुवा हरिप्रसाद तिलीजाले बताए ।

प्रशस्त पर्यटकीय सम्भावना बोकेको धौलागिरि चक्रिय पदमार्गको प्रवेश बिन्दुमा पर्ने नाउराको भिरलगायतका स्थानमा सुरक्षित पदमार्ग निर्माणका लागि प्राथमिकता दिएको गाउँपालिकाका अध्यक्ष थमसरा पुनले बताए ।

पदमार्ग फराकिलो र सुरक्षित बनाउने, विभिन्न खोलामा झोलुङ्गे पुल निर्माणका लागि समुदाय, प्रदेश र संघीय सरकारसंग समन्वय गरीने अध्यक्ष पुनले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button