कालीगण्डकी कोरीडोर प्रसारण : दाना–खुर्कोट प्रसारण लाइनको काम तीव्र

पोखरा न्यूज -१३, साउन ।

म्याग्दी र मुस्ताङमा निर्माणाधीन जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्नका लागि शुरु गरिएको कालीगण्डकी कोरीडोर प्रसारण लाइनको निर्माणले तीव्रता पाएको छ ।

कोरीडोरअन्तर्गत म्याग्दीको दानादेखि पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको ३९ किलोमिटर लामो प्रसारण लाइन र सबस्टेशन निर्माणले गति लिएको हो ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत् सबस्टेशन निर्माण भइरहेको सो आयोजनाको प्रसारण लाइनका लागि टावर निर्माणको कामले समेत गति लिएको छ ।

दाना–खुर्कोटसम्म ११४ टावर निर्माण गर्नुपर्नेमा हालसम्म ३५ मात्र निर्माण सम्पन्न भएको र करीब एक दर्जन स्थानमा टावर निर्माण भइरहेको आयोजनाका प्रमुख चन्दनकुमार घोषले बताए । सो खण्डको डिजाइनको सबै काम भने सकिएको छ । ‘‘टावर निर्माण कार्य तीव्ररुपमा अगाडि बढेको छ, धेरैजसो फाउण्डेशनको कामलाई जोड दिएका छौँ, समयमै आयोजनाको काम सक्न प्रयासरत छौँ ”, प्रमुख घोषले भने । उनका अनुसार सबस्टेशनको समेत पूर्वाधार निर्माणलाई तीव्र पारिएको छ । नेपाल विद्युत् प्राधिकरणले एशियाली विकास बैङ्कको सहयोगमा कालीगण्डकी कोरीडोर प्रसारण लाइन आयोजनाअन्तर्गत सन् २०१६ देखि दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेशन निर्माण शुरु गरेको थियो ।

रु २] अर्ब ९० करोडमा ठेक्का सम्झौता गरेका टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीले सबस्टेशनको पूर्वाधार, प्रसारण लाइनको टावर निर्माणसँंगै इलेक्ट्रोनिक उपकरण खरीदको कामलाई अघि बढाएका छन् । सन २०१८ नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्यसहित निर्माणलाई तीव्रता दिइएको आयोजनाका प्राविधिक सहायक प्रबन्धक लक्ष्मण फुयाँलले जानकारी दिए । सो आयोजनाको अहिलेसम्म ६२ प्रतिशत बढी निर्माण सम्पन्न भएको छ ।

कालिगण्डकी कोरीडोर प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणले पहिलो चरणमा दाना–खुर्कोटमा सबस्टेशन र प्रसारण लाइन निर्माणको काम अघि बढाएको तथा खुर्कोटदेखि नवलपरासीको बर्दाघाटसम्म दोस्रो चरणमा प्रसारण लाइनको पूर्वाधार बनाउने तयारी भैरहेको आयोजनाका प्रमुख घोषले जानकारी दिए ।

यहाँ उत्पादन हुने विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि पूर्वाधार निर्माणले गति लिएसंँगै म्याग्दीमा निर्माणाधीन जलविद्युत् आयोजनाले समेत पूर्वाधार निर्माणलाई तीव्रता दिएका छन् । सो आयोजनाले प्रसारण लाइनको टावर रहने जग्गा अधिग्रहणका लागि रु साढे ४ करोडभन्दा बढी मुआब्जा वितरण गरिसकेको छ । टावरका लागि ९३ रोपनी जग्गा अधिग्रहण गरिने भएको छ । प्रक्रिया पूरा गरिआएका सबै लाभग्राहीलाई मुआब्जा वितरण भइरहेको आयोजनाले जनाएको छ । कालीगण्डकी कोरीडोर राष्ट्रिय प्रसारण लाइनमार्फत म्याग्दी र मुस्ताङमा निर्माण भएका र निर्माणाधीन जलविद्युत् अयोजनाबाट उत्पादन हुने विद्युत्लाई राष्ट्रिय प्रसारणमा जोडिने छ ।

सो प्रसारण लाइनअन्तर्गत १३ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाले उत्पादन शरु गरिसकेको छ भने म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ५ मेगावाटको घलेम्दीखोला, ४२ मेगावाटको मिस्त्रीखोला, १४ मेगावाटको घारखोला, १०० मेगावाटको निलगिरि र निलगिरि क्यास्केट निर्माणाधीन छन् ।

त्यस्तै रघुगङ्गा गाउँपालिकामा ४० मेगावाटको राहुघाटले समेत निर्माण शुरु गरेको छ भने अन्नपूर्ण गाउँपालिकामै १६४ मेगावाटको कालीगण्डकी गर्ज, ६२ मेगावाटको निलगिरि, ३८ मेगावाटको निलगिरि क्यास्केटलगायत आयोजनाले काम शुरु गर्ने तयारी गरेका छन् । यहाँका खोलानालाबाट विद्युत् उत्पादनको इजाजतपत्र लिएर बसेकाहरु प्रसारण लाइन निर्माणले गति लिएसंँगै पूर्वाधार निर्माणमा जुट्न थालेका हुन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button