आठौं राष्ट्रिय खेलकुदको ट्राईयाथलन र डुआथलनमा विभागिय टोलीकै वर्चश्व

एकै परिवारका चार जना सहभागी हुँदा दुईलाई पदक

पोखरा न्यूज – ३०, चैत । आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पोखरामा सम्पन्न ट्राईयाथलन र डुआथलनमा विभागिय टोलीकै वर्चश्व रह्यो । नेपालगन्जमा विभिन्न कारणले उक्त प्रतियोगिता हुन नसके पछि छोटो सुचनाको आधारमै पोखरामा शनिबार  उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत ट्राईयाथलनको पुरुष विधामा त्रिुभवन आर्मी क्लबका दिपेश चौधरीले १ घन्टा ८ मिनेट ३८ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हात पार्दा त्रिभुवन क्लबकै वसन्त थारुले १ घन्टा ९ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा एपिएफका नितेश मानन्धरले १ घन्टा १५ मिनेट ९ सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पारे । ट्राईयाथलन स्प्रिन्टमा ७५० मिटर पौडी, २० किलोमिटर साइक्लिङ र ५ किलोमिटरको दौडको त्रिकोणात्मक प्रतियोगिता हुने गर्छ ।

ट्राईयाथलनमै महिलातर्फ भने एपिएफकी सोनी गुरुङले १ घन्टा २२ मिनेटमा दुरी पार गर्दै स्वर्ण पदक हात पारिन् भने त्रिभुवन आर्मीकी केशरी थापा मगरले १ घन्टा २९ मिनेट ३० सेकेण्डमा दुरी पार गर्दै रजत पदक तथा गण्डकी प्रदेशकी जमुना थापाले २ घन्टा ३० सेकेण्डमा दुरी पार गर्दै काश्य पदक हात पार्न सफल भइन् ।

प्रतियोगितामै ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ र पुनः २.५ किलोमिटरको दौड हुने डुआथलन स्पर्धामा पुरुषतर्फ एपिएफ क्लबका लक्ष्मण मल्लले स्वर्ण, नेपाल आर्मीका हिमाल टमाटाले रजत र एपिएफका किरण कुमार मल्लले काश्य पदक हात पारे । स्वर्ण विजेता मल्लले १ घन्टा १ मिनेट १५ सेकेण्डमा दुरी पार गरे भने हिमाल टमाटाले उक्त दुरी १ घन्टा १ मिनेट ५८ सेकेण्डमा पार गरे । त्यस्तै काश्य पदक विजेता किरण कुमार मल्लले १ घन्टा ४ मिनेट १६ सेकेण्डमा उक्त दुरी पार गरे ।

त्यस्तै महिला डुआथलनतर्फ भने एपिएफकी हुमी बुढामगरलाई स्वर्ण, एपिएफकी निर्जला ताम्राकारलाई रजत र एपिएफकी शकुन्तला बुढामगरलाई काश्य पदक हात पर्यो । हुमिले १ घन्टा १६ मिनेट १७ सेकेण्डमा दुरी पार गरिन् भने निर्जला ताम्राकारले १ घन्टा १७ मिनेट ४७ सेकेण्ड तथा शकुन्तलाले १ घन्टा २९ मिनेट ४६ सेकेण्ड लगाउदै लक्ष्य पुरा गरिन् ।

डुआथलनको महिला स्पर्धामा दुई दिदीबहिनीले भाग लिएर पदकसमेत जित्दै नेपाली राष्ट्रिय खेलकुदको इतिहासमै एक नयाँ आयाम रचे । विधामा स्वर्ण र काश्य पदक जित्दै अल्ट्रा धाविका द्वय एपिएफका २० वर्षिया हुमी बुढामगर र १३ वर्षिया शकुन्तला बुढामगरले सो उपलब्धी हासिल गरेका हुन् । धाविका द्वय हुमी र शकुन्तला अर्का अल्ट्राधावक दामोदर बुढामगरका छोरीहरु हुन् । साथै उनका भाइ कान्छा भाई रेम बुढामगर डुआथलनमा सहभागी भएका थिए । दामोदर सहित ४ जना खेलाडीहरुले विना कस्टियुम पौडी प्रतियोगितामा सहभागि भएका थिए ।

प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेश मुख्यमन्त्रि पृथ्बी शुब्बा गुरुङले गरेका थिए । समारोहमा बोल्दै गुरुङले खेलकुदले पर्यटन प्रवर्द्धनमा सहयोग पुर्याउने बताएका थिए । विजेता खेलाडीलाई गण्डकी प्रदेश सांसद, अर्थ तथा विकास समितिका अध्यक्ष दिपक कोइराला, नेपाल ट्राईयाथलन संघका अध्यक्ष निलेन्द्र राज श्रेष्ठ, महासचिब यूवराज सुनुवार, कास्की जिल्ला ट्राइयाथलन संघका अध्यक्ष सुमन देबकोटा लगायतले मेडल, प्रमाणपत्र तथा मायाको चिनो प्रदान गरेका थिए । प्रतियोगितामा ५० खेलाडीको सहभागिता थियो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button