दीननाथ / गणेश बराल पोखरा न्यूज – १६, वैशाख । पोखराको मुख्य पर्यटकीय क्षेत्र फेवातालबाटै झिकेको माटोले ताल पुरिने खतरा बढेको छ । तालको आकार बढाउने भन्दै फेवातालको माथिल्लो भाग खपौदिबाट झिकेको माटो सिमसार क्षेत्र समेत रहेको तालको मुहान भागमा लगेर थुपारिएपछी पुन: त्यहि माटो बगेर तालमा आउने भएकाले ताल पुरिने खतरा बढेको हो ।
पोखरा महानगरपालिकाले नै तालको आकार बढाउने नाममा सिमसार क्षेत्रमा व्यक्ति बिशेषलाई घडेरी बनाउन माटो थुपार्ने अनुमति दिएपछि सिमसार क्षेत्र र फेवाताल नै थप जोखिममा परेको छ । फेवातालको आकार बढाउन तालको माटो सित्तैमा झिकेर लान अनुमति दिएको महानगरले सिमसार क्षेत्रमै माटो हाल्न अनुमति दिएपछि सिमसार क्षेत्र पुरेर घडेरी बनाउने कामले तिब्रता पाएको छ । सिमसार क्षेत्रमा माटो थुपार्ने अनुमति पाएपछि देखाउनका लागि फेवातालको माटो १० प्रतिशत र करिब ९० प्रतिशत माटो पामे माथिल्लो भागबाट खनेर ल्याई सिमसार क्षेत्र पुर्ने काम यतिबेला भइरहेको छ ।
फेवातालको माथिल्लो तटिय भागमा लोकनाथ तिमिल्सिनाले यतिवेला धमाधम फेवातालको माटो आफ्नो दलदल खेत पुरेकाछन्। उनले भने “ यो मेरो आफ्नो व्यक्तिगत जग्गा हो, यसमा धान खेतिको साथमा अन्य अन्न वाली लगाऔं भन्ने उद्धेश्यले फेवातालको आकार बढाउनको लागि निकालिएको माटो प्रयोगमा ल्याएको हुँ । ” उनले अधिकांश माटो अन्यत्र बाट ल्याएको बताउदै माथिल्लो भाग मा मात्र कालो मलिलो माटो राख्न तालको माटो ल्याएको बताए ।
स्थानिय प्रेमराज तिमिल्सिनाले आफ्ना तीन दाजुभाइले पोखरा महानगरसंगको समन्वयमा आफ्नो धानखेतमा हाल माटो पुर्दै गरेको बताए । उनले करिब १० रोपनी क्षेत्रफलमा आफ्नै विभिन्न जमिन कटान गरी माटो पुर्ने काम गरेका हुन् । उनले भने “ फेवातालको सिंसार क्षेत्रलाई सवैले संरक्षण गर्नु पर्छ, यस अघि हाम्रो जमिन भन्दा तल्लो तटिय क्षेत्रमा केही व्यक्तिले दलदल जमिनमा माटो राखेर उक्त जमिनलाई विभिन्न प्रयोजनमा ल्याए पछि हामीले पनि आफ्नो खेतको संरक्षणको लागि माटो हाल्न थालेका हौं, हामीले हामी रहुन्जेल यो जग्गामा कुनै घर घडेरी बनाउदैनौं । ”
फेवातालबाट माटो झिकिरहेका रिच पोखरा कन्ट्रक्सनका संचालक दिपक पराजुलीले फेवातालको खपौदीबाट निकालिएको माटो व्याबस्थापनमा आफुहरु लागेको बताए । निकालिएको माटो खेति योग्य जमिन बनाउन प्रयोग भएको उनले दावी गरे । उनले भने“ फेवातालको आकार बढाउने अभियानमा हामी पनि छौं, हामीले फेवातालबाट निकालेको माटो व्यक्तिहरुको खेति योग्य जमिनमै राखेका छौं तर केहिले यस बिषयलाई अनावश्यक रुपमा तर्क वितर्क गरेका छन् । ”
फेवातालबाट निकालेको माटो पोखराको मुख्य बजार हुदै अनेत्र लैजादा बढी धुलो माटो भएकोले बजारमा असर पर्ने भएकोले त्यसलाई ताल वरिपरि नै व्यबस्थापन गर्न खोजेको उनले जनाए । पराजुलीले खन्ने खर्च र ढुवानी जोडेर एक टिपर माटोको २ हजार देखी ३ हजार ५ सय सम्म लिने गरेको बताए । तालको आकार बढाउन फेवातालको माटो महानगरले निशुल्क रुपमा उपलब्ध गराउदै आएको महानगरले जनाएको छ ।
सिमसार क्षेत्रमा जथाभावी रुपमा खन्न खोर्सन रोक हुँदा हुदै पोखरा महानगरपालिका कै अनुमतिमा फेवातालको सिरानभाग पामे, चंखपुर लगायतका दलदल भागमा माटो ढुंगाले पुर्न थालिएपछी स्थानियले बिरोध जनाएका छन् । बर्षादको समयमा विभिन्न खहरैखोलाबाट आउने ठुलो भलपानीले तालको माथिल्लो भागमा लगेर राखेको माटो पुनः तालमै लैजाने भन्दै सिमसार क्षेत्र पुरा तालको माटो प्रयोग गर्नु गलत भएको स्थानिय प्रजापति तिमिल्सिनाले गुनासो गरे । सिमसार क्षेत्रमा ४/५ फिट माटो हालेर पुर्न थालेपछी पुरेको ठाउँ पछाडिको अन्य भूभाग समेत डुवानमा पर्ने खतरा रहेको उनले बताए ।
गण्डकी प्रदेशका सांसद रामजी बराल जिवनले पोखराको फेवाताल संरक्षणको नाममा तालबाट निकालिको माटो तालको माथिल्लो भागमा लगेर पुर्नु अवैध भएको बताए । उनले भने “ सिमसार क्षेत्रमा लालपुर्जा भएकालाई पोखरा महानगरपालीकाले नै मलजल गरी अवैध रुपमा दलदल भाग पुरेर घडेरी बनाउन लागेको छ, यसमा मेरो गम्भिर आपति छ, यस्तो कार्यलाई अविलम्व रोकिनु पर्छ, यस कार्यकोे मैले घोर निन्दा गर्छु । ”
फेवातालको शिरानमा अवैध गतिविधिलाई प्रसय दिएर पुच्छरमा पार्क र नेपाली राष्ट्रिय झण्डाको नाममा करोडौैं खर्चिएर प्रदेश सरकारले नाटक देखाएको समेत उनले आरोप लगाए ।
फेवातालको वरिपरि देखि माथिल्लो भागमा समेत जथभावी रुपमा खनिएका कच्ची सडक बाटोको कारणले गर्दा पनि बर्षादमा ढुंगा माटो सिधै फेवातालमा मिसिने गरेको छ ।
पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले फेवाताल संरक्षण गर्ने अभियान अन्र्तगत दोश्रो चरणमा खपौदी क्षेत्रबाट माटो निकाल्न थालेको बताए । माटो व्यबस्थापनमा हाल जनगुनासो आएको उनले स्वीकार गरे ।
सर्बोच्च अदालतले फेवाताल संरक्षण गर्न आदेश दिएसंगै पोखरा महानगरपालिका र प्रदेश सरकारको पहलमा पोखराको मुख्य पर्यटकीय स्थल फेवातालको बंगलादी क्षेत्रबाट पहिलो चरणमा ३५ हजार घनमिटर ढुंगा, माटो निकालिएको थियोे ।