प्रचारप्रसारको अभावमा बाग्लुङको पाण्डुकेशरी गुफा ओझेलमा

पोखरा न्यूज- १९, वैशाख । गलकोट नगरपालिका–९ मल्मस्थित पाण्डुकेशरी गुफा संरक्षणको काम शुरु भएको छ । धार्मिक र पर्यटकीय महत्वको गुफा संरक्षण र प्रचारप्रसार अभावमा ओझेलमा थियो । जनप्रतिनिधिसहित स्थानीयवासी गुफा संरक्षण तथा विकासमा कस्सिएका छन् ।

गुफा पुग्ने पदमार्गदेखि आसपासमा पर्यटकीय पूर्वाधार निर्माणको काम अघि बढाइएको छ ।  सीमा क्षेत्रमा पर्ने हुँदा वडा नंं ९ र ७ ले सँगसँगै गुफामा काम गरिरहेका छन् ।  दुवै वडा साविक मल्म गाविसमा पर्छन् । वडा नं ७ सिद्धेश्वर शिवालय मन्दिरदेखि गुफा जोड्ने पदमार्ग निर्माण जारी छ । पदमार्गका लागि चालू आवमा वडाबाट रु दुई लाख बजेट छुट्टिएको थियो । डेढ किमी दूरीमा पदमार्ग निर्माणको काम भइरहेको सिद्धेश्वर शिवालय सेवा समितिले जनाएको छ ।  पदमार्ग बनाउन जनश्रमदानसमेत जुटाइएको छ ।

“यो वर्षको बजेटबाट पदमार्ग बन्दैछ”, समितिका अध्यक्ष ज्ञानबहादुर थापाले भने, “शिवालय र गुफा जोड्ने गरी अन्य पर्यटकीय पूर्वाधार निर्माणको योजना छ ।” पाण्डुकेशरी गुफा र शिवालय मन्दिरबीच पुरानो सम्बन्ध छ । बाला चुर्तदशी पर्वमा शिवालय मन्दिरदेखि सतबिज छर्दै गुफा पुग्ने र पूजाआजा गर्ने चलन छ । उक्त पर्वमा गुफा क्षेत्रमा भक्तजनको ठूलो घुइँचो लाग्ने गर्छ । घाँसदाउरा गर्ने क्रममा गाउँलेले विसं २०४२ तिर गुफा फेला पारेका थिए ।

गुफाभित्रको पत्थरमा विभिन्न देवीदेउता र नागका आकृति छन् । गाईका थुनजस्ता देखिने आकृतिबाट बाह्रैमास पानीका धारा चुहिने गर्छन् । गुफा छिर्ने भक्तजन बढ्दै जाँदा धारा पनि बढ्ने गरेको बताइन्छ । गुफाको भुइँतलामा ससाना जलकुण्डसमेत छन् । माथिल्लो तला भने सुख्खा छ । भर्याङ र कृत्रिम प्रकाशको सहायताले मात्र गुफाको उपल्लो तलामा पुग्न सकिन्छ ।

एक सयले एकैसाथ गुफाको अवलोकन र पूजाआजा गर्न सकिने वडा नं ९ का अध्यक्ष तेजबहादुर थापाले बताए। मानिसले कुँदेका जस्ता देखिने विभिन्न अलौकिक आकृतिले गुफा पुग्नेलाई आकर्षित गर्ने गर्छ । गुफा क्षेत्रलाई समेटेर उद्यान, वनभोजस्थललगाएतका पर्यटकीय पूर्वाधार बनाउने योजना सिद्धेश्वर शिवालय सेवा समितिको छ । गुफादेखि माथि टिम्लेचौरमा रहेको माईको मन्दिर पुनःनिर्माणको योजनासमेत अघि बढाइएको छ । ऐतिहासिक सिद्धेश्वर शिवालय मन्दिरलाई जिल्लाकै महत्वपूर्ण धार्मिक गन्तव्यका रुपमा विकास गर्ने लक्ष्य लिइएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button