तनहुँमा करिब ३ करोड लागतमा पक्कि पुल निर्माण सम्पन्न

पोखरा न्यूज – २६, जेठ । दुई करोड ८९ लाख ३४ हजार ४७ रुपैया लागतमा तनहुँको भानु नगरपालिका–४ चुँदी र ५ बरभञ्ज्याङ जोड्ने चुँदीखोलामाथि पक्की पुलको निर्माण कार्य  सम्पन्न भएको छ । पुलको आइतबार  नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्घाटन गरे ।

पुलको उद्घाटन गर्दै उनले  गुरुयोजना अनुसार भानु जन्मथलोलाई पर्यटनको केन्द्रविन्दु बनाउनुपर्नेमा जोड दिए । वरिष्ठ नेता पौडेलले भने, “नेपाली भाषाका धरोहर आदिकविको जन्मथलोको विकासका लागि साहित्यिक उद्यानको गुरुयोजना बनाएका थियौ, तर राजनीतिले अर्कै मोड लिएपछि चुँदी क्षेत्रसमेत ओझेलमा पर्न थाल्यो ।” स्थानीयवासी अग्रसर हुने हो भने चुँदीरम्घाको विकासका लागि आफूले नेतृत्व लिन तयार रहेको उनले बताए ।

वरिष्ठ नेता पौडेलले भने, “साहित्यमार्फत पर्यटन विकास गर्न सम्भव छ, चुँदीरम्घालाई साहित्यिक उद्यानको रुपमा विकास गर्न बजेटको कमी हुँदैन । अन्तर्राष्ट्रिय स्तरबाट समेत लगानीको प्रतिबद्धता भइसकेको छ ।” फरक प्रसङ्गमा बोल्दै वरिष्ठ नेता पौडेलले काङ्ग्रेस चुनावमा पराजित भएपछि विकासका योजना अलपत्र परेको आरोप लगाए ।

उनले भने, “विकास गर्न चिन्तन, योजना र देशभक्ति आवश्यक पर्छ, तर सरकार अहिले यो विषयमा अलमलिएको जस्तो देखिएको छ ।” वरिष्ठ नेता पौडेलले कृषि क्रान्ति, उर्जा विकास र पर्यटनमार्फत् देश समृद्ध बन्न सक्ने भएकाले सरकारले यी विषयलाई प्राथमिकतामा राखेर विकास योजना बनाउनुपर्नेमा सुझाव दिए ।

गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङ, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले पुल निर्माणसँगै चुँदीरम्घाको पर्यटन विकासमा टेवा पुग्ने धारणा व्यक्त गरे ।

तत्कालिन जिल्ला विकास समितिमार्फत विसं २०७३ वैशाख १६ गते शुरु भएको पुलको निर्माण कार्य विसं २०७५ वैशाख १३ गते सम्पन्न भएको थियो । रु दुई करोड ८९ लाख ३४ हजार ४७ को लागतमा निर्माण सम्पन्न भएको पुलको लम्बाई २५ मि र चौडाई ४.२५ मि रहेको जिल्ला समन्वय समितिका इञ्जिनीयर सुरेश अधिकारीले जानकारी दिए ।

पुल निर्माणभएसँगै स्थानीयवासीलाई सहज भएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष रामकुमार श्रेष्ठले जानकारी दिए । उनले भने, “पुल निर्माण नहुँदा वर्षायाममा चुँदीखोलाले मानवीय क्षति पुगेको थियो, अब भने सहज भएको छ ।”

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button