हिमलाल पराजुली, पोखरा न्यूज – २६, असार । वैदेशिक रोजगारीबाट फर्किएका तथा छाडेका स्याङ्जाली युवाको रोजाइमा परेको छ बाख्रापालन । परदेश गएर कठोर परिश्रम गर्नुपरेपछि उनीहरुलाई यो व्यवसाय उपयुक्त लागेको हो ।
चापाकोट नगरपालिका–४ घुर्लीचौरका ४४ वर्षीय केशरबहादुर खाँणको दैनिकी बाख्राको स्याहारसुसारमै बित्ने गर्छ । भारतीय सेनामा ७ वर्ष बिताएका खाँण अहिले बाख्रापालन व्यवसायमा रमाइ रहेका छन् । भारतीय सेनामा काम गरेर अवकाश लिएका उनले लण्डनमा ७ वर्ष बिताए । स्वदेश फर्केर केही समय ठेक्कापट्टाको काम गरे ।
त्यसलाई पनि छाडेर २०७० सालदेखि १० लाख रुपैयाँ लगानी गरेर ३० वटा बाख्राबाट बाख्रापालन व्यवसाय शुरु गरे खाँणले । अहिले उनको फार्ममा झण्डै १०० माउ बाख्रा र ५० पाठापाठी छन् । बाख्राका लागि चार रोपनी जमीनमा खोर बनाएका छन् भने ६० रोपनी जमीनमा बाख्राका लागि आवश्यक पर्ने डाले घाँस लगाउएका छन् ।
खाँणको फार्ममा अष्ट्रेलियन र अफ्रिकी जातका ८० प्रतिशत बोयर बाख्रा रहेका छन् । महीनामा ८० हजारदेखि एक लाख रुपैयाँसम्म कमाइ हुने गरे पनि बजारको समस्या रहेको उनले बताए ।
त्यसैगरी, वालिङ नगरपालिका–१० ढकाल डाँडाका ४२ वर्षीय रुकमांगत ढकालले २०७४ साल कात्तिकदेखि रु ३ लाखको लगानीमा २० वटा बाख्राबाट यो व्यवसाय शुरु गरेका हुन् र अहिले उनको फार्ममा ५६ वटा बाख्रा छन् । वैदेशिक रोजगारीमा १९ वर्ष बिताएका ढकालले विदेशमा सोचे जस्तोे कमाइ नभएपछि आफ्नै गाउँघरमा फर्किएर बाख्रापालन थालेको बताए ।
ढकालले भने “विदेशमा गर्ने दुःख यहीँ गर्दा राम्रो आम्दानी लिन सकिँदो रहेछ । अहिले मैले एक वर्षमा ६ लाख रुपैयाँ आम्दानी गर्ने गरेको छु । आम्दानी अझै बढी लिन सकिने थियो तर, हामीले उत्पादन गरेका खसीबोकाको राम्रो भाउ पाइँदैन । मूल्य एउटै छ, खसीबोकाको लागि खुवाउने दानाको भने वर्षै पिच्छे मूल्य बढ्छ ।” उनका अनुसार बाख्रालाई समय समयमा पी पी आर खोरेतको सूई लगाउने गरेमा कुनै समस्या आउँदैन ।
भीरकोट नगरपालिका–८ ओकादीका कृषक चोकबहादुर गुरुङको फार्ममा अहिले ६५ वटा बाख्रा छन् । विसं २०७१ मा ६ वटा बाख्राबाट उनले यो व्यवसाय शुरु गरेका छन । स्वीट्जरल्याण्डको सानन जातको बाख्रा पाल्दै आएका उनी सोही गाउँका दिलबहादुर गुरुङ मिलेर बाख्राको दूधबाट चिज उत्पादन गर्ने र साबुन बनाउने तयारीमा लागेका छन् ।
विसं २०७० देखि १२ वटा बाख्राबाट व्यवसाय शुरु गरेका दिल बहादुरका ६८ वटा बाख्रा भए । गुरुङ द्वय बाख्रापालनलाई उद्योगका रुपमा सञ्चालन गर्ने तयारीमा छन। सानन जातको बाख्राले राम्रो दूध दिने भएकाले भदौ महीनादेखि दूधबाट नुहाउने साबुन बनाएर बिक्री गर्ने योजनामा रहेको उनहरुले बताए । अहिले वर्षमा पाँच/छ लाख रुपैयाँ कमाइ भए पनि उद्योग सञ्चालनमा आएपछि राम्रो आम्दानी लिन सकिने चोक बहादुर आशावादी छ।
वालिङ नगरपालिका–१४ माथिल्लो पेखुका ४७ वर्षीय जीवन खाँणले पनि २०६९ सालदेखि ५० हजार रुपैयाँको लगानीमा बाख्रा पाल्न शुरु गरे र अहिले उनको वार्षिक आम्दानी ४ लाख रुपैयाँसम्म पुग्छ । बोयर जातको बाख्रा पाल्दैआउनु भएका खाँणले वास्तविक किसानले सहज रुपमा सेवा सुविधा नपाएको र टाठाबाठाले मात्रै पाउँदैआएको गुनासो गरे ।
वालिङ नगरपालिका–६ की सीता भण्डारीले दुई वर्षदेखि बाख्रापालन व्यवसायबाट हुने आम्दानीबाटै घर खर्च चलाउँदै आएकी छन । खेतीकिसानी सँगसँगै पनि यो व्यवसाय गर्न सकिने भएकाले आफूले खेतबारीको कामसँगै बाख्रा पाल्दै आएको उनले बताइन । उनको वर्षमा डेढ/दुई लाख आम्दानी हुन्छ ।
बाख्रापालन व्यवसायमा लागेकाहरु अधिकाँश वैदेशिक रोजगारीबाट फर्किएकाहरु छन् । बाख्रापालन गर्न चाहने युवाका लागि नमूना बाख्रा गाउँ अभियान प्रेरणाको स्रोत बनेको छ । बाख्रापालन गर्छु भन्ने युवालाई नमूना बाख्रा गाउँ अभियानले प्राविधिक सहयोगका साथै तालीम र निःशुल्क परामर्श समेत प्रदान गर्दैआएको छ । बाख्रा गाउँ अभियान स्याङ्जाका अध्यक्ष तथा कृषि सेवा केन्द्र दहथुमका प्रमुख सशीसल अर्यालले जिल्लामा १२९ जना युवकले फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन गर्दैआएका जानकारी दिए ।