पोखरामा महिला क्रिकेट विकास गर्न अन्तर विद्यालय प्रतियोगिता

पोखरा । पोखरा महानगरपालिकाले महिला क्रिकेटको विकासलाई प्राथमिकतामा राखेको छ । टोलस्तरबाट क्रिकेट खेल विकास तथा विद्यालयबाट प्रतिभाको खोजीका लागि महानगरले पहिलोपटक अन्तर सामुदायिक विद्यालय टि ट्वान्टी छात्रा क्रिकेट प्रतियोगिता गर्नेभएको छ ।

महानगर खेलकुद विकास समितिको आयोजनामा यही वैशाख १५ देखि २१ गतेसम्म पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा महानगरस्तरीय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगिता सञ्चालन गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।

प्रतियोगिताको संयोजन पोखरा महानगर क्रिकेट सङ्घले गरेको छ । सन् २०२७ को टि ट्वान्टी यु-१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट परिचित गराउने लक्ष्य राखिएको छ ।

प्रतियोगितामा महानगरभित्र रहेका नौ वटा सामुदायिक विद्यालयले सहभागिता जनाएको महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदारले बताए ।

उनले भने, “महिला क्रिकेटलाई प्राथमिकतामा राख्दै ग्रास रुटबाट क्रिकेट विकास गर्न तथा विद्यालयबाट देशका लागि आवश्यक क्षमतावान् प्रतिभाको खोजी गर्नेछौँ ।”

पोखराका त्रिभुवन शान्ति मावि, बाराही, सिद्ध, कालिका, जनप्रकाश, भद्रकाली, अमरसिँह, छोरेपाटन र सिर्जना माध्यमिक विद्यालयले सहभागिता जनाएका छन् ।

महानगर क्रिकेट सङ्घका अध्यक्ष वीरेन्द्र पुनले सहभागी टिमलाई तीन समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाइने जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी विद्यालयले कम्तीमा पनि दुई खेल खेल्न पाउने छन् ।

लिग चरणमा शीर्ष स्थान हासिल गर्ने हरेक समूहबाट एक विद्यालय सेमिफाइनल प्रवेश गर्नेछ । शीर्ष तीनमध्ये उच्च रनरेट प्राप्त टिम सिधै फाइनलमा पुग्नेछ ।

प्रतियोगिताका विजेता तथा उपविजेता टिमले ट्रफी, मेडल प्रमाणपत्र पुरस्कार पाउनेछन् । यसैगरी हरेक खेलमा ‘उमन अफ द म्याच’, ‘मन अफ द सिरिज’, ‘बेष्ट व्याट्सम्यान’, ‘बेष्ट बलर’ लगायतलाई छुट्टाछुट्टै पुरस्कार प्रदान गरिने अध्यक्ष पुनले जानकारी दिए ।

कास्की जिल्ला क्रिकेट सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतियोगिताबाट राम्रो खेलाडी पहिचान र उत्पादन हुने बताए ।

उनले सामुदायिक विद्यालयमा खेलकुदमा लगानी न्यून भएको अवस्थामा यस प्रतियोगिताबाट खेलकुदलाई महत्व दिएर लगानी वृद्धि गर्न सहयोग पुग्ने बताए ।

“अन्तर विद्यालय छात्रा क्रिकेट आयोजना गर्नु राम्रो सुरुआत हो । यसले ग्रासरुटबाट महिला खेलाडी उत्पादनमा सहयोग पुग्नेछ”, अध्यक्ष सिग्देलले भने ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button