तनहुँमा निर्माणधीन कालिका मन्दिरलाई सहयोग

पोखरा न्यूज – २७, असार । तनहुँको व्यास नगरपालिका–४ मा निर्माण हुँदै गरेको प्यागोडा शैलीको मन्दिरका लागि विभिन्न सङ्घसंस्था तथा व्यक्तिले रु ११ लाख सहयोग गरेका छन् ।

बागभञ्ज्याङ सामुदायिक वनभित्र निर्माण हुँदै गरेको तनहुँ कालिका मन्दिरका लागि तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइ, बागभञ्ज्याङ सामुदायिक वन, शीतलचोक राधाकृष्ण आमा समूहलगायतले रु ११ लाख ५५ सहयोग गरेका हुन् ।

मन्दिर निर्माणका लागि एकाइ र सामुदायिक वनले रु चार/चार लाख सहयोग गरेको छ भने आमा समूहले रु दुई लाख ७५ हजार सहयोग गरेको तनहुँ कालिका शहीद शान्ति पार्क उपभोक्ता समितिका कोषाध्यक्ष एकबहादुर रानाले जानकारी दिए । उनका अनुसार हरिओम टोल आमा समूहले पनि रु २५ हजार ५५ सहयोग गरेको छ ।

मन्दिर निर्माण सम्पन्न गर्नका लागि प्राप्त भएको रकमले सहयोग पुग्ने समितिका अध्यक्ष मोतीकुमार श्रेष्ठले बताए । कालिका मन्दिर निर्माणका लागि हालसम्म रु एक करोड ४३ लाख खर्च भएको छ । मल्लकालीन प्यागोडा शैलीको मन्दिर निर्माणको कार्य ७० प्रतिशत पूरा भएको छ । तीनतले र ५५ फिट उचाइको मन्दिरमा विभिन्न नामका देवीदेवताका आकृति भएको टुँडाल हाल्ने क्रम जारी छ । मन्दिर तामाको छानोले छाइनेछ ।

“विभिन्न सङ्घसंस्था र व्यक्तिको सहयोगबाट नै मन्दिर निर्माण सम्पन्न हुनेमा विश्वस्त छौँ”, समितिका कोषाध्यक्ष रानाले भने, “दाताको सहयोग प्राप्त नभएको मन्दिर आज यो अवस्थासम्म आइपुग्न गाह्रो हुन्थ्यो ।” तनहुँ उद्योग वाणिज्य सङ्घ दमौली बजार एकाइका सभापति राजकुमार श्रेष्ठले मन्दिरले दमौली बजारको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए । करीब रु तीन करोडको लागतमा मन्दिरको सम्पूर्ण काम सम्पन्न गर्ने लक्ष्य रहे पनि मन्दिर निर्माणका लागि रकम अपुग हुने पार्कले जनाएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button