पोखराको फेवाताल र सराङकोट जोड्ने केवलकारको निर्माण कार्य ८० प्रतिशत सकियो

दीननाथ बराल, पोखरा न्यूज – ०२, साउन । नेपालीहरुको महान चाड विजया दशमी पर्वको अवसरमा पोखरा आउने पर्यटकले सरर.. केवलकार चढ्न पाउने भएका छन्। पोखराको नयाँ पर्यटकीय गन्तव्यको रुपमा निमार्ण हुँदै गरेको अन्नपुर्ण केबलकारको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले यस पालिको दशैंमा केवलकार संचालनमा ल्याउने तयारी गरिएको केबलकारका संचालक निर्देशक मध्येका एक तिर्थराज त्रिपाठीले बताए ।

उनले भने “हामीले नयाँ बर्षको अवसरमा केबलकार पक्षिण गर्ने तयारी गरे पनि प्राविधिक कारणले गर्दा केही ढिलाई हुन गएको छ, अब भने दशैं पर्वको अवसरमा हामीले केबलकार संचालन गर्ने गरी निर्माण कार्यलाई हाल तीव्रता दिएकाछौं । ” पोखरेली तथा पोखरा आउने पर्यटकहरुलाई नयाँ पर्यटकीय गन्तव्यको रुपमा दशैंको अवसरमा व्यवसायीक रुपमा संचालनमा ल्याउने उनले दाबी गरे । केवलकारको निर्माण कार्य हाल करिब ८० प्रतिशत भन्दा बढी सम्पन्न भएको निर्देशक त्रिपाठीले दाबी गरे । उनले भने “यस केबलकारमा प्रयोग हुने विभिन्न वस्तुसहितका मेसिनरी सामानहरु पोखरा आइसकेका छन् तर जेनेरेटर भने पोखरा आउदै गरेकोे छ, अब जडानको काम बाँकी रहेको छ । ”

केवलकारमा प्रयोग हुने डोरी, गण्डला, सहितका मेसिनरी सामानहरु आइसकेकोले अब त्यसलाई जडान गर्न मात्र बाँकी रहेको निर्देशक त्रिपाठीले बताए । माथिल्लो (टप ) स्टेसनमा छानो हालि सकिएको छ भने तल्लो (बटम) स्टेसनमा छानो हाल्ने काम  शुरु भएको छ । स्टेसनमा छानो हाले पछि स्टेशनको फिनिसिङ गर्ने काम बाँकी रहेकोले पानी परे पनि काम खासै नरोकिने त्रिपाठीले जनाए । १८ वटा टावर मध्ये हालसम्म १७ वटा पूर्ण रुपमा निर्माण गरिएको छ भने बाकी एउटा चौथो टावर निर्माण हुदैछ । स्टेसनमा टायल, मार्वल इन्टरनेट, कार्यालय ब्यावस्थापन, पार्किङ लगायतका काम हुने भएको छ ।

भदौंमा जापानबाट आउने प्राविधिक टोलीले केबलकारको सुपरभिजन गरी केबलकार असोज भित्र संचालनमा ल्याउने गरी निर्माण कार्य तिव्र पारिएको त्रिपाठीले जनाए । हाल दैनिक जसो ६० जना कर्मचारी परियोजनामा आवद्ध भएको उनले जनाए । माथिल्लो स्टेसनको भवनमै माथिल्लो तलामा आर्सिसि विल्डङमा उच्च स्तरको रेष्टुरेण्ट संचालन गर्ने तयारी गरेकोले परियोजनामा थप लगानी तथा थप समय लागेको र बजेट बढ्न गएको उनले जनाए । हाल एक अर्ब ३० करोड लगानी हुने भएको निर्देशक त्रिपाठीले जनाए । नेपाल राष्ट्रिय बाणिज्य बैंक, सनराइज बैंक र बंगलादेश बैंकले परियोजनामा बैंकीङ पार्टरको रुपमा रहेको उनले बताए ।

पोखराको फेवाताल किनारा र सराङकोटलाई जोड्ने गरी पोखरामा पर्यटनको नयाँ प्रोडक्टको रुपमा आफुहरुले विकसित गर्न खोजिएको त्रिपाठीले बताए । २ हजार २ सय ७५ मिटर लम्बाइको केबलकारमा १८ वटा डिब्बा (गोन्डोला) रहने भएका छन भने प्रति डिब्बमा ८ जनाको सिट क्षेमता रहनेछ । एउटा डिब्बा सामान बोक्नको लागि बाँकी १७ वटा यात्रुको लागि प्रयोग हुने भएको निर्देशक त्रिपाठीले बताए । केबलकारमा करिब ३६ वटा भन्दा बढी डिब्बा क्षमताको भएको उनले जनाए ।

माथिल्लो स्टेशन भवन सहित स्काई हेवन बेलुन रेष्टुरेन्ट, भ्यु टावर निमार्ण हुदै छ भने तल्लो स्टेशनमा पार्किङ, गार्डेन सहितको संरचना निमार्ण हुने भएको छ । स्टेशन निर्माण गर्ने बिषयमा पहिला स्टिल फेब्रीकेशन मोडल निमार्ण गर्ने लक्ष्य राखे पनि पछि आएर आरसिसि (कंक्रिट) मोडलमा निमार्ण गरेकोले लागत बढ्न गएको उनले बताए ।

केबलकारमा यात्रा गर्दा हिमाल, ताल, हरियो वन जंगल तथा पोखराको मनोरम दृश्यावलोकन गर्न सकिने त्रिपाठीले बताए । प्रति घण्टा १ हजार ५ सय जनालाई सेवा दिन सक्ने क्षेमताको केबलकार निर्माण भएको उनले जनाए । केबलकार निमार्ण भए पछि फेवातालको किनार सेदीबगरबाट ८ देखि ९ मिनेटमै सराङकोट पुग्न सकिने छ । अहिले फेवाताल क्षेत्रबाट सराङकोट जान गाडीबाट करिब ४५ मिनेट लाग्छ ।

सराङकोट र सेतीबगरमा स्टेसन राख्नका लागि प्रालिले जग्गा खरिद गरिसकेको छ भने बन क्षेत्रमा पर्ने २४ रोपनी जग्गाको सट्टाभर्ना गराई सकेको प्रालिले जनाएको छ । कम्पनीले लुम्लेमा विभिन्न व्यक्तिहरुसंगबाट जग्गा किनेर सट्टा भर्ना दिएको छ । साथै कम्पनीले बार्षिक जग्गाको राजश्व समेत तिर्नु पर्ने हुन्छ । सरकारले ४० वर्षका लागि लिजमा जग्गा उपभोग गर्न स्वीकृत दिएको छ । त्यसै गरी कम्पनीले तल्लो स्टेशनमा १४ र माथिल्लो स्टेशन क्षेत्रमा करिब १२ रोपनी जग्गा लिएको छ ।

केबलकारमा युवा व्यवसायि कालु गुरुङ सहितका नेपाली व्यवसायी ७५ प्रतिशत, पूर्व जापानी नागरिक टाकासी मियाहाराको १५ प्रतिशत र स्थानीय कोर १० प्रतिशत लगानी रहेको प्रालिले जनाएको छ। अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ रहेका छन्। केबलकार निर्माणको जिम्मा चितवनको समूहले पाएको हो । नेपालमा सञ्चालनमा रहेका मनकामना र चन्द्रागिरी केबलकार जस्तै भएपनि यो केबलबार नयाँ प्रविधि प्रयोग गरीने भएको अध्यक्ष गुरुङले बताउदै आएकाछन्।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button