सर्वसाधारणका लागी कहिले खुल्छ पोखराको ‘रत्न मन्दिर’ को ढोका ?

श्याम रानामगर , पोखरा न्यूज – ०६, साउन ।  राजसंस्थालाई घुँडा टेकाएर गणतन्त्र ल्याएको पनि एक दशक बढी भै सक्यो । जहानियाँ राज शासन अन्त्य भएर जनताको शासन लागु भईसक्दा पनि जनताले आफ्नो शासनको अनुभुति भने गर्न नपाएको भान हुन्छ । राजसंस्थाको अन्त्य भए पनि उनीहरुसँग सम्बन्धित विषयबस्तु भने अन्त्य भएका छैनन् । झनै चासोका विषय बनेको देखिन्छ । इतिहासका पाना केलाउँन महत्वपूर्ण सेतु बनेका छन् । र, बन्छन् ।

जति पनि नेपालका राजा बने । उनीहरुले पोखरामा सायदै पाइला टेकेका छन् । अनि यहाँको सुन्दरतालाई आँखाभरि नियालेका छन् । पोखरा त्यही सुन्दर नगरि हो जहाँ सर्वसाधारण नागरिक मात्र होइन् । ठुलाबडा, विदेशी नागरिक पनि लोभिन्छन् । र, डुबुल्किन्छन् यहाँको सुन्दरतासँगै ।

तत्कालिन राजा महेन्द्र शाहलाई पनि खुबै मन पर्थ्यो पोखरा । उनको मन पर्ने थलो मध्येको एक थियो पोखरा । पोखरामा पनि मन पर्ने ठाउँ फेवाताल । बेलाबखतमा उनी पोखरा आइ नै रहन्थे । पोखरा आउँदा फेवा किनारमा टहलिने र बास बस्ने ठाउँको खाँचो देखे महेन्द्रले । र, परिकल्पना गरे । रातमा फेवा किनारमा टहलिदै जुनलाई नियाल्ने । त्यही परिकल्पनालाई ०१५ सालमा साकार पारे उनले । राजा महेन्द्रले फेवाताल किनारैमा  मन्दिरको निर्माण गरे । नाम पनि आफ्नी कान्छि रानीकैै नामबाट दिए । “रत्न मन्दिर” ।

रत्न मन्दिर सर्वसाधारण जनताको लागि गुमनाम जस्तै छ । थाहै पाए पनि नियाल्ने अवसरबाट भने बञ्चित छन् । राजाकिय शासन सकिएको यतिका वर्ष सम्म पनि ‘रत्न मन्दिर’ सर्वसाधारणको लागि खुल्ला गरिएको छैन ।  महेन्द्रपछि वीरेन्द्रको मनपर्ने र प्रिय ठाउँ थियो ‘रत्न मन्दिर’ । त्यसपछि त पोखरा आउँदा राजपरिवारको बासै रत्नमन्दिरमा हुन थाल्यो । दरबार हत्याकाण्ड हुँदा (वीरेन्द्रको वंशनाश हुँदा) ज्ञानेन्द्र शाह रत्न मन्दिरमै थिए । ज्ञानेन्द्रले ०५८ जेठ १९ को रात रत्न मन्दिरमा बिताएका थिए ।

फेवा किनारको रत्नमन्दिरमा राजाको आउ–जाउ त्यतिबेला टुट्यो, जतिबेला राज संस्थाको जनतासँग सम्बन्ध टुट्यो । ज्ञानेन्द्र नै ‘रत्न मन्दिर’मा रमाउने अन्तिम राजा बने । २०६२/०६३ को जनआन्दोलनपछि त वीरेन्द्रको नाममा रहेको रत्न मन्दिर पनि सरकारले आफ्नो नाममा लियो । ०६४ साल असोज २१ गतेको मन्त्रिपरिषद्को निर्णयले रत्नमन्दिरलाई नेपाल ट्रष्टको नाममा ल्याउने निर्णय लियो ।

जनताले रत्नमन्दिर कस्तो छ ? अझै हेर्न पाएका छैनन् । ‘रत्न मन्दिर’को पूर्वमा महेन्द्रका माइला भाई हिमालय वीरविक्रमका नाममा बनेको हिमा गृह पनि अझै जनताको पहुँचभन्दा बाहिर छ । राजसंस्था पछिका प्रत्येक सरकारको पालामा ‘रत्न मन्दिर’ र ‘हिमागृह’ जनताका लागि खोल्ने चर्चा चल्छ । तर खुल्दैन ।

पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जिवि पोख्रेल ‘रत्न मन्दिर’ र ‘हिमागृह’लाई सर्वसाधारण जनताको पहुँचमा ल्याउनु पर्ने मत राख्छन् । ‘पोखरा आउँने जो कोहीलाई पनि रत्न मन्दिर कस्तो होला भनेर खुलदुलि छ,’ उनले भने, ‘राजासँस्थाको अन्त्य भई सके पनि राजाले बनाएको रत्न मन्दिर कस्तो होला भनेर सर्वसाधारणमा चासो छ ।

यो पोखराको पर्यटनसँग पनि जोडिएको हुनाले रत्न मन्दिर र हिमा गृह जस्ता ऐतिहासिक सम्पदा सबैको पहुँचमा ल्याउनु पर्छ ।’ देशमा जनताको सरकार आएको हुनाले पनि रत्न मन्दिरलाई सर्वसाधारणको पहुँचमा ल्याउँनु पर्ने उनी तर्क गर्छन् ।  त्यसो त ‘रत्न मन्दिर’ कहिले संग्रहालय बनाएर जनताका लािग खुलाउने ? ५ तारे होटल या सरकारी आवास बनाउने बहस र चर्चा पनि नभएका होइनन् ।

विभिन्न समयमा नेतादेखि मन्त्रीसम्मले रत्न मन्दिर खुलाउँने विषयमा चर्को भाषण दिए तर पूरा भएन । गण्डकी प्रदेश सरकारले पनि रत्न मन्दिर तर्फ आखाँ नलगाएको होइन् । केही समय अघि गण्डकी प्रदेश सरकारका पर्यटन मन्त्री विकास लम्सालले रत्न मन्दिरलाई संग्रहालय बनाएर खुलाउँने तयारी थालेको पनि बताएका थिए । संघीय सरकारसँग छलफल गरि पर्यटकको लागि खुलाउँने तयारी थाल्ने उनको भनाई थियो । तर, अहिलेसम्म खुल्न सकेको छैन । रत्न मन्दिर अझै पनि सर्वसाधारणका लागि गुमनाम नै छ । संघिय सरकारकै स्वामित्वमा छ ।

रत्न मन्दिर र हिमा गृह मात्रै खुला गर्न सकियो भने पोखरामा पर्यटक आउने र कम्तिमा एक दिन बसाइ थपिने देखिन्छ । यस्ले पोखराको पर्यटन क्षेत्रमा ठुलै भए पनि परिर्वतन ल्याउँन सक्छ । राजसंस्थाको अन्त्य र गणतन्त्रको स्थापनासँगै नारायणहिटी राजदरबार जनताका लागि खुलि सके । तर, पोखराकै मुख्य पर्यटकीय केन्द्रमा अवस्थित रत्न मन्दिर र हिमागृहको ढोका भने अझै बन्द छ । रत्न मन्दिर र हिमागृहलाई खुला गरिनुपर्ने आवाज पनि नआएको होइन पोखरेलीको ।

यस्को ऐतिहासिक महत्वलाई बुझाएर थुप्रै पर्यटक तान्न सक्ने सम्भावना पनि छ । राजसंस्था अन्त्य भइ सके पनि उनीहरुले प्रयोग गर्ने गरेका सामग्रीले ऐतिहासिक महत्व राख्छन् । जस्तो कि राज परिवारले कस्तो खेल्ने मैदान, सुत्ने कोठा, प्रयोग गथ्र्यो ।  नेपाल ट्रष्ट इकाइ कार्यालय, रत्न मन्दिरका निमित्त प्रमुख भिमप्रसाद गौडेलले रत्न मन्दिर १ सय १४ रोपनी क्षेत्रफलमा फैलिएको जानकारी दिए । रत्न मन्दिरमा प्रशासनिक भवन र फेवातालसँगै जोडिएको ताल घर र सैनिक बस्ने ३८ कोठे लामो भवन रहेको उनले जानकारी दिए । उनका अनुसार मुख्य भवनमा ११ कोठा छन् । जहाँ तत्कालीन राजारानीले सुतेका कोठा, आराम गर्ने र खाना खाने कोठाहरु छन् ।

रत्नमन्दिरलाई अहिले नेपाली सेनाले पहरा दिँदै आएको छ । राजसंस्था अन्त्य सगै बन्द रहेका हिमा गृह र रत्न मन्दिर सर्वसाधारणका लागि खुल्ला गर्न किन ढिलाई भइरहेको छ ? यो विषयमा पोखरेलीको प्रश्न पनि छ । पोखरेलीहरु ‘रत्न मन्दिर’ को ढोका सर्वसाधारणका लागी कहिले खुल्ला र हेरौला अनि पर्यटकलाई समेत निम्तो दिउला भनेर कुरेर बसेका छन् ।

पोखराको मात्र नभई राष्ट्रकै ऐतिहासिक सम्पदा बनि सकेको रत्न मन्दिरलाई नयाँ पुस्ताको लागि अध्यन गर्ने र पर्यटकले अवलोकन गर्ने संग्रहालयको रुपमा विकास गर्ने तर्फ सरकारले ध्यान दिए पोखरा तथा नेपालकै पर्यटन क्षेत्र मौलाउँने पूर्ण  बिश्वाश पोखरेलीले लिएका छन् ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button