रुपन्देहीमा व्यवसायिक फूलखेती गर्दै आमा समूह

युवराज पाण्डे, पोखरा न्यूज- ०२, कार्तिक । रुपन्देहीको सैनामैना नगरपालिकामा अतिथिलाई लगाउने खाँदा विस्थापित गर्न फूलखेती शुरु गरिएको छ । खासगरी नगरपालिकाको विभिन्न वडामा रहेका आमा समूहले आयआर्जनका लागि व्यवसायिक  फूलखेती शुरु गरेपछि नयाँ अनुभव हासिल भएको बताएका छन् ।

“हामीले माला उत्पादन गरेर खाँदा विस्थापित मात्रै गर्न सक्यौँ भने पनि ठूलो उपलब्धि हुन्छ”, पैरवी आमा समूह सैनामैनाकी अध्यक्ष सीता जिसीले भनिन । उनले फूलखेतीका लागि मिहेनत धेरै गर्नुपर्ने अनुभव गरिएको जानकारी दिँदै फूलखेतीबाट धेरै उत्साहित भएको बताइन ।

सयपत्री फूलको खेती सैनामैना वडा नं ४ स्थित सिसौँडाँडामा गरिएको छ । सो आमा समूहले ११ कठ्ठा जग्गा भाडामा लिए पनि पाँच कठ्ठा जग्गामा मात्रै फूलखेती गरेकोे छ । उक्त आमा समूहले नगरपालिकाले प्रदान गरेको रु ५० हजार अनुदानसमेत लिएको छ । रु एक लाख ८० हजार फूलखेतीमा लगानी गरेको आमा समूहले सोचेजस्तो बिरुवा नभएको कारण आम्दानी कम हुने अनुमान भएको बताएको छ ।

आमा समूहकी कोषाध्यक्ष लक्ष्मी श्रेष्ठले रु १ सयदेखि रु १ सय ५० सम्ममा माला बनाएर बेच्ने गरेको उल्लेख गर्दै स्थानीय बजारमै फूलखेती खपत हुने बताए  । उनले तीन वर्षका लागि रु ३० हजार वार्षिकरूपमा भाडा तिरेको जानकारी दिँदै ५० प्रतिशत फूलको बिरुवा रोग लागेर खेर गएको बताइन ।

कोषाध्यक्ष श्रेष्ठले अन्नपूर्ण एग्रोभेट, बुटवलबाट ल्याएको फूलको बीउ गुणस्तरीय नभएको उल्लेख गर्दै फूलखेतीको प्राविधिक विश्लेषण नभएको गुनासो गरिन । त्यस्तै सैनामैना नगरपालिका–७ आमीको पुष्पाञ्जली आमा समूहले गरेको फूलखेती अधिकांश खेर गएको छ ।

“आधाभन्दा बढी फूलको बिरुवा गोडेर फालेका छौँ”, पुष्पाजञ्ली आमा समूहका उपाध्यक्ष निरु रानाले भनिन । उनले रु दुई हजार वार्षिकरूपमा तिरेर जग्गा भाडामा लिएर फूलखेती गरेको जानकारी दिँदै ठिमाहा बीउ र पतेरोको ठूलो समस्या देखिएको बताइन ।

“धेरैले फूलखेती नगरेकाले फूलखेतीमा फाइदा हुन्छ भनेर यो खेती गरेका हौँ”, उपाध्यक्ष रानाले भनिन । कृषि विकास शाखा सैनामैना नगरपालिकाका कृषि अधिकृत सिर्जना सुवेदीले कृषकले नै कम गुणस्तरको बीउ ल्याएकाले समस्या देखिएको उल्लेख गर्दै पूजा, विवाह, व्रतबन्धमा फूलको प्रयोग बढाएर बजार व्यवस्थापनमा सहयोग गरेको बताइन ।

उनले नगरपालिकाकोतर्फबाट फूल लगाउने विधि, रोगको समस्या देखिँदा प्रयोग गर्ने ‘मल्टी भिटामिन’ को प्रयोग गर्न सुझाएको जानकारी दिँदै फूलखेतीबाट मालाको प्रयोग गरेर खाँदा विस्थापित गर्न सके उपलब्धि हुन्छ भनिन । सैनामैना नगरपालिकाको वडा नं ४ र ७ बाहेक ६, ८, १० र ११ मा पनि रु ५० हजार अनुदान दिएर फूलखेती गरिएको छ । नेपालीको चाड भाइटीकामा फूलको प्रयोग बढी हुने भएकाले पनि कृषकको उत्साह बढेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button