‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु

पोखरा न्यूज – १४, कार्तिक । पोखरा उद्योग वाणिज्य सङ्घले पर्यटन प्रवर्धनको उद्देश्यका साथ ‘गन्तव्य मर्दी हिमाल’ अभियान शुरु गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा घोषित ‘आन्तरिक पर्यटन वर्ष २०१९’ तथा नेपाल सरकारद्वारा घोषित ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सघाउने उद्देश्यका साथ आजदेखि मर्दी हिमाल तर्फको पदयात्रा कार्यक्रमसहित अभियान थालिएको हो ।

भ्रमण संस्कृतिको विकास गर्दै प्रदेश र सङ्घीय सरकारद्वारा घोषित भ्रमण वर्षको प्रचार गर्न सङ्घले ‘गन्तव्य मर्दी हिमाल’ अभियान तय गरेको पदयात्रा टोलीका नेता एवं सङ्घका अध्यक्ष दामु अधिकारीले बताए । पोखरा र आसपासका पर्यटकीय गन्तव्यको प्रचारलाई सङ्घले पहिलो प्राथमिकतामा राखेको बताउँदै उनले सरकारले घोषणा गरेका प्रवर्धनात्मक कार्यक्रमलाई सघाउन आफूहरू तयार रहेको बताए ।

गण्डकी प्रदेश सरकारले अघि सारेको ‘बिदा पर्यटन’को अवधारणाका साथै अन्य प्रवर्धनात्मक कार्यक्रम लगायतमा आफूहरू हातेमालो गर्न तयार रहेको बताए । उनले भने,“देश र विदेशमा आफूहरूको ठूलो संयन्त्र भएकोले सहकार्य गर्दै अघि बढाउने दायित्व सरकारको हो ।” भ्रमण दलमा सङ्घका अध्यक्ष अधिकारीसहित कार्यसमितिका सदस्य तथा कर्मचारी सहभागी छन् ।

चार दिने पदयात्राको क्रममा टोली चार हजार ६०० सय मिटर उचाईको मर्दी हिमाल आधारशिविर पुग्ने सङ्घका कार्यसमिति सदस्य कीर्तिवल्लभ त्रिपाठीले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button