पोखरामा उदाउदो सुर्यलाई अर्घ दिंदै भक्तजन

दिननाथ बराल, पोखरा न्यूज-१७,कार्तिक । पोखरा क्षेत्रका भगवान सुर्यका भक्तहरुले पनि आइतबार उदाउदो सुर्यलाई अर्घ चढाएसंगै यस बर्षको छठ पर्वलाई विदाई गरेका छन्। पोखराको फेवाताल, सेती नदी र नारायणथान मन्दिरमा गरी तीन ठाउँमा यस बर्ष पनि निकै रमझामका साथ पर्व मनाईएको विभिन्न छठ पुजा समितिहरुले जनाएका छन्।

पोखराको नारायणथान मन्दिर, फेवाताल किनार (केदारेश्वर महादेव मणि मन्दिर) परिसर र रिठ्ठाघाँट त्रिवेणी धाम सेती नदी दोभान कालि खोलामा गरी मुख्य तीन ठाँउमा धुमधामका साथ  छठ पर्व मनाईएको छठ पुजा समितिहरुले दाबी गरेका छ । पछिल्लो समयमा छठ पुजामा पहाडीया सहित तराई मुलका धेरै जना छठ पर्व मनाउन आएसंगै आफुहरुलाई पुजा आजा गराउने स्थानको व्यवस्थापन गर्न निकै कठिन हुँदै आएको फेवाताल र नारायणथान छठ पुजा समितिका पदाधिकारीहरुले गुनासो गरेका छन्।

छठ पर्वको मुख्य दिन (षष्ठी) शनिबार कार्तिक १६ गते परेको पोखराका विभिन्न छठ पुजा स्थललमा दर्शकहरुको बाक्लो उपस्थिती रहेको एनबी व्यवसायी समिति पोखराका अध्यक्ष अनिल गुप्ताले बताए । उनका अनुसार विगत १५ बर्ष अघि पोखराको बाराही घाटबाट शुरु गरिएको छठ पुजा पछिल्लो केही बर्ष देखि केदारेश्वर मन्दिर परिसरमा हुँदै आएको हो । यस बर्ष छठको मुख्य दिन शनिबार परेकोले सरकारले सार्वजनिक बिदा दिएन ।

पछिल्ला बर्षमा भक्तजनहरुको सङख्यामा वृद्धि भएसंगै छट घाट ठुलो र फराकिलो बनाउनु पर्ने भएको अध्यक्ष गुप्ताले जनाए । छठ पुजा स्थलमा विभिन्न झिलिमिलि बत्तिबाट झकी झकाउदै पारिएको थियो । साथै छठ पुजा समितिहरुले पुजा स्थलमा आगन्तुक भक्तजनहरुलाई ठेकुवा सहितको नि: शुल्क रुपमा प्रसाद समेत वितरण गरेको भुनेश कुमारले बताए ।

त्यसैगरी नारायणथान मन्दिर परिसरमा व्यवस्थित ढंगले छठ पुजा गर्ने व्यवस्था मिलायसंगै सुर्यका भक्तहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे भएको निलकण्ठ महादेव छठ पुजा नारायणथान मन्दिर समितिका महासचिव राजेस कुमार गुप्ताले बताए । अध्यक्ष गुप्ता र महासचिव गुप्ताले आफुहरुलाई छठ पुजा गर्ने स्थल साँघुरो भएकोले सरकारले थप जग्गा उपलब्ध गराउन माग गरेकाछन्।

पछिल्लो ५ बर्ष देखि कालिखोला क्षेत्रमा समेत धुमधामका साथ छठ पुजा मनाउन थालेसंगै पहाडी मुलका धेरै जनताले छठ पुजा आरधना गर्न थालेको त्रिवेणी घाट छठ पुजा समितिका अध्यक्ष एवं प्राध्यापक देवनारायण सुतीहारले बताए । शनिबार अस्ताउदो सुर्यको पुजा गरेका सुर्यका भक्तले सप्तमी कात्तिक १७ गते आइतबार सुर्यका भक्तहरुले उदाउदो सुर्यलाई अर्घ दिई यस बर्षको छठ पर्वलाई विधाई गरेको सुतिहारले जनाए । पोखरामा पछिल्ला बर्ष देखि मधेषि, तराई तथा केहि पहाडी मुलका मानिसहरुले समेत छठ पर्व मनाउन थालेका छन । छठका भक्तहरुले केराको खम्मा, उखु, अदुवा, भोगटे, सुन्तला लगायतका फलफुलका वोटहरु सजावट गरेका थिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button