बेनीमा ८० किलोको बोका ३ लाखमा बिक्रि, स्याङ्जाका पौडेलले गरे खरिद

कमल खत्री, पोखरा न्यूज- २६ कार्तिक ।  एउटै बोकाको मुल्य करिब ३ लाख परेको सुन्दा अचम्म लाग्न सक्छ । तर यहाँका एक कृषकले एउटै बोकालाई रु २ लाख ९० हजारमा बिक्रि गरेका छन् । बेनी नगरपालिका-९ तोरीपानीमा विगत ६ बर्षदेखि व्यवसायिक रुपमा उन्नत जातको बाख्रापालन गर्दै आएका कृषक आनन्द रिजालले शुद्ध बोयर बोका एउटैलाई सो मुल्यमा बिक्रि गरेको बताए ।

रिजालले सञ्चालन गरेको धवलागिरी बोयर मोडल फार्मबाट स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका त्रिभुवन पौडेलले ८० किलोको बोयर बोका खरिद गरेका हुन् । पौडेलले शुद्ध बोयर भएकाले आफुले करिब ३ लाख खर्चिएर बोका खरिद गरेको बताए । रिजालको फार्ममा अहिले ७ वटा शुद्ध बोयर र २५ वटा क्रस बोयर जातका बाख्रा रहेका छन् ।

स्थानीय जातका बाख्रामा नश्ल सुधारको लागि रिजालले अस्ट्रेलियाबाट उत्नत जातको बाख्रा आयात गरि ल्याउनुभएको थियो । विगत ५ बर्षदेखि व्यवासायिक बा्रखापालन गर्दै आउनुभएका कृषक रिजालले स्थानीय जातका बाख्रामा नश्ल सुधार गरि उन्नत बाख्रा उत्पादन गर्न थालेका हुन् ।। नश्ल सुधार गरि बोयर बाख्रा उत्पादन गरि प्रतिगोटा रु १ लाख देखि २ लाख सम्ममा पाठापाठी र बोका विक्रि गर्दै आएको कृषक रिजालले बताए ।

उनले अहिले बोयर बोका र पाठीको माग अत्यधिक रहेको र माग पुर्याउन कठिन भएको जानकारी दिए । थोरै समयमा धेरै तौल बढ्ने बोयर जातको बाख्रा पालनमा कृषकहरु आकर्षित भएका छन् । छिटो तौल बढ्ने, मासु लाभदायी हुने र आम्दानी राम्रो हुने भएपछि पछिल्लो समय कृषकहरु बोयर बाख्रापालन तर्फ आकर्षित भएका हुन् ।

सामान्यतया ६ महिनासम्म पालेको बोयर बाख्रा ३० किलोबढीको हुने गर्छ । कृषकहरुले एउटै बोकालाई ८० किलो भन्दा बढी तौल सम्म बनाएर विक्रि गर्दै आएका छन् । सन १९०० को पहिलो दशकमा दक्षिण अफ्रिकामा विकास भएको बोयर जातको बाख्रा छिटो शारीरीक वृद्धी, तौल उच्च, अन्य जातका बाख्राको तुलनामा रोग प्रतिरोधात्मक क्षमत्ता बढी भएको र स्थानीय हावापानी अनुकुल भएकाले नेपालमा ब्यवसायीक कृषकहरुको बोयर जातका बाख्रा पालन तर्फ आकर्षण बढेको पाईएको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button