साग महिला ह्याण्डबलमा बंगलादेशलाई कास्य

पोखरा न्यूज – २२, मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) को महिला ह्याण्डबलमा बंगलादेशले कास्य पदक प्राप्त गरेको छ । पोखरा रंगशाला स्थित बहुउद्धेश्य कभर्ड हलमा आइतबार विहान भएको तेस्रो स्थानको खेलमा पाकिस्तामाथि ३१–१५ फराकिलो गोल अन्तरले पराजित गर्दै बंगलादेशले कास्य पदक प्राप्त गरेको हो ।

भारतको गुहावटीमा भएको १२ औं सागको उपविजेता बंगलादेशले पाकिस्तानमाथि सहज जित निकालेको हो । १२ औं सागमा पाकिस्तान कास्य पदक विजेता हो ।  पहिलो हाफमा १७–५ ले अगाडि रहेको बंगलादेशले दोस्रो हाफमा १४ गोल गर्न सकेको थियो । पाकिस्तानले दोस्रो हाफमा १० गोल गर्न सकेको थियो ।

बंगलादेशका लागि मोसम्मत रुबिना बेगमले सर्वाधिक ९ गोलको योगदान दिइन् । त्यसपछि, अल्पोना अख्तरले टोलीका लागि ६ गोल थपिन् । खाडिजा खातुन र सुमी बेगमले समान ५/५ गोलको योगदान गरे । सिल्पी अख्तरले ४ गोल जोडिन् । खालेदा सुल्तानाले २ गोल थपिन् ।

पाकिस्तानका लागि नुसरत बानोले सर्वाधिक ५ गोल गरे । खालिदा रमजानले टोलीका लागि ४ गोलको योगदान गरिन् । आस्मा आल्ताफ र साइका रियाजले समान २/२ गोल जोडे । साडिया बासिर र नाजिस मक्सुदले १/१ गोलको योगदान गरे । बंगलादेशकी मोसम्मत रुबिना बेगमले पहेंलो कार्ड पाएका थिए ।

यसैबिच, नेपालले स्वर्ण पदकको लागि भारतसंग आज दिउसो ४ बजे पछि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएको नेपाल ह्याण्डवल संघका अध्यक्ष तेज बहादुर गुरुङले बताए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button