पोखरामा हाप्किडो खेलको अन्तर्राष्ट्रिय सम्मेलन हुने

पोखरा न्यूज – ०४, पुष । हाप्किडो खेललाई परिचित गराउँदै देशका लागि आवश्यक राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनमा सघाउने लक्ष्यसहित पोखरामा ‘प्रथम अन्तर्राष्ट्रिय मार्सल आर्टस् हाप्किडो सम्मेलन’ गरिने भएको छ ।

नेपाल मार्सल आर्टस् हाप्किडो सङ्घको आयोजनामा आगामी माघ ११ र १२ गते हुने सम्मेलनमा नेपालसहित करीब २० देशका ग्राण्ड मास्टर, मास्टर, प्रशिक्षक, खेलाडी र अफिसियल गरी ६ सयको सहभागिता रहने साउथ एशियन हाप्किडो महासङ्घका समेत अध्यक्ष रहनुभएका सङ्घका केन्द्रीय अध्यक्ष कालीबहादुर घर्ती मगरले जानकारी दिए ।

सो सेमिनारमा अमेरिका, अष्ट्रिया, रसिया, दक्षिण कोरियाका ग्राण्डमास्टर तथा नेपालका मास्टर सङ्घका अध्यक्ष घर्ती र आठौँ साफमा स्वर्ण पदक विजेता बक्सिङका प्रकाश थापा मगरले प्रशिक्षण दिने कार्यक्रम रहेको उनले बताए । दक्षिण कोरियाबाट विकास भएको हाप्किडो मार्सल आर्टस्को ‘मिक्स’ खेल भएको तथा आत्मरक्षा र सामाजिक अनुशासनका लागि समेत खेल महत्वपूर्ण मानिने सङ्घका केन्द्रीय सदस्य सुवर्ण बिसीले बताए ।

विसं २०७३ मा पहिलोपटक राष्ट्रिय खेलकूद परिषद्मा हाप्किडो सङ्घ दर्ता भएको बताउँदै अध्यक्ष घर्तीमगरले सोही वर्ष नै राष्ट्रिय सम्मेलन तथा तथा विसंं २०७४/७५ मा जिल्ला प्रतियोगिता, प्रादेशिक तथा राष्ट्रिय प्रतियोगिता सम्पन्न गरेको उनले जानकारी दिए । सङ्घले गत कात्तिक १ र २ गते रोल्पामा शहीद स्मृति मार्शल आर्टस् हाप्किडो राष्ट्रिय प्रतियोगिता आयोजना गरेको थियो ।

देशभर करीब १० हजारको हाराहारीमा हाप्किडोका खेलाडी रहेका बताइन्छ । पोखरामा आयोजना गरिने हाप्किडोको अन्तर्राष्ट्रिय सेमिनारले सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई पनि सफल बनाउन भूमिका खेल्ने बताइन्छ । सम्मेलन सम्पन्न गर्न रु ४० देखि ५० लाख हाराहारीमा खर्च लाग्ने आयोजकको अनुमान छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button