पोखरामा जारी व्यापार मेलामा कृषि औजारप्रति उपभोक्ताको आकर्षण

पोखरा न्यूज – २२, पुष । पोखराको नयाँबजारमा जारी औद्योगिक व्यापार मेलामा एउटा स्टल छ, गोर्खाली कृषि औजार पसल । त्यसका संचालक हुन्,जीतबहादुर । गोर्खा च्याङलिङका जीतबहादुर चितवन झरे । बाबुबाजेकै सिकाएको आरनको काम सम्हाले । हँसिया, खुर्पा, दाउ, फाली, बञ्चरो, ताप्के, कराई सबै बनाए । काम त जिविकाकै लागि थियो ।

पहाडीया डिजाइनमा बनेका घरायसी सामानहरु मान्छेले मन पराए । ‘८ वर्षकै उमेरदेखि काम गर्न थालेको हुँ’, उनले भने,‘गौथलीले गुँड लगाए जस्तै गरि अलिअलि गरेर अहिलेको अवस्थामा आएको हुँ ।’ उनी अहिले पनि भाँडा बनाउँछन् । अहिले उनलाई भाईले पनि साथ दिएका छन् । ४ जनालाई रोजगारी दिने उनको गोर्खाली कृषि औजारले उद्योगकै रुप लिएको छ ।

कामले माम दिएको छ । उनी आफ्नो काममा सन्तुष्ट मात्रै छैनन्, गुणस्तरीय फलामका भाँडा उत्पादकको रुपमा समेत चिनिएका छन् । व्यापार मेलामा रहेको उनको स्टलमा राखिएका सामानहरु उपभोक्ताले मन पराएका छन् । जीतबहादुरका उत्पादनहरुको फिनिसिङ पनि राम्रो छ । यो त उदाहरण मात्रै हो, जारी मेलामा देशैभरका साना उद्यमीहरुको उत्पादन प्रदर्शनी तथा विक्री वितरण भइरहेको छ । मुस्ताङको सिमीदेखि टिम्बुर, मधेशका उत्पादन तथा जडिबुटीका विभिन्न उत्पादनहरु पनि मेलामा राखिएको छ ।

‘समग्रमा समृद्धि स्टिल्स राष्ट्रिय औद्योगिक व्यापार मेलामा घरायसी प्रयोजनमा चाहिने सबैजसो सामानहरु रहेका छन्’, मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले भने,‘मेला मध्यतिर आइपुग्दा सहभागिता पनि बढ्दै गएको छ ।’

पोखरा उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य महासंघ, गण्डकी प्रदेश तथा नेपाल उद्योग वाणिज्य महासंघको आयोजना, पोखरा महानगरपालिकाको संरक्षण, नेपाल पर्यटन वोर्ड, आइएमई ग्रुप तथा राष्ट्रिय वाणिज्य बैंकको प्रबर्द्धनमा लगानीको सम्बर्द्धन उद्योग व्यवसायको प्रवद्र्धन भन्ने उद्घोष सहितको मेला पुसको २८ गतेसम्म जारी रहने छ ।समृघि स्टिल्स मेलाको मुख्य प्रायोजक हो भने हिमशिखर कृष्ति सहकारीको उपकार ब्राण्डले मेलाको सहप्रायोजन गरेको छ ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार मंगलबारसम्म करिब ४० हजार जनाले मेलाको अवलोकन गरेका छन् । मेलामा आयोजना भएको सांस्कृतिक कार्यक्रममा रौनक थपिँदै गर्दा तथा मेला मध्यतिर आइपुगेपछि सहभागिता बढ्दो क्रममा रहेको उनले दावी गरे ।

मंगलबार लोकदोहोहीतर्फ राधिका हमाल,सविना गुरुङ,सरस्वती लामिछाने,रिता कार्की कुँवर,शंकर विरही गुरुङ,शिवहरि ढुंगाना,केशव देवकोटा,परशुराम अधिकारी पपतर्फ सुमित ग्रुप, देउराली ब्याण्ड हाँस्यतर्फ पोखरेली धुर्मुस र माग्ने बूढाको प्रहसनले पनि अवलोकनकर्तालाई मनोरञ्जन गराएको साँस्कृतिक उपसमिति संयोजक सोवित पौडेलले जानकारी दिए ।

उनका अनुसार बुधबार बालगायिका कमला घिमिरेको विशेष प्रस्तुति रहनेछ । यसैगरि आधुनिक/पपतर्फ विक्रम बराल,प्राप्ति तुलाचन, राज सिग्देल,लोकदोहोरीतर्फ कमला घिमिरे ( बालगायिका), सरिता सारु मगर,सरस्वती परियार,पूर्ण परियार, रामजी पौडेल, अम्बर धिताल, टेक क्षेत्री तथा हाँस्यतर्फ पुर्खे बा ( पुरुषोत्तम भण्डारी)को प्रस्तुति रहने छ ।

यता मंगलबार प्रवेश टिकटमा लक्की ड्रमार्फत प्याराग्लाइडिङ उडान टिकट नम्बर ५२०० लाई र टिकट नम्बर ५११६ सोलार प्यानल उपहार प्राप्त भएको टिकट व्यवस्थापन उपसमिति संयोजक बलराम आचार्यले जानकारी दिए ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button