यु-१९ विश्वकपको सेमिफाइनलमा पाकिस्तान भारतसँग १० विकेटले पराजित

पोखरा न्यूज – २१ , माघ । यु-१९ विश्वकप अन्तर्गत आज भएको पहिलो सेमिफाइनलमा भारतले चीर प्रतिद्वन्द्वी पाकिस्तानलाई १० विकेटको लज्जास्पद हार चखाएको छ ।

दक्षिण अफ्रिकामा जारी प्रतियोगिता अन्तर्गत आज भएको खेलमा टस भने पाकिस्तानले जित्यो । टस जितेर ब्याटिङ रोजेको टोलीले निर्धारित ५० ओभर मध्ये ४३.१ ओभर मात्रै खेल्दै सबै विकेट गुमाएर १ सय ७२ रनको सामान्य योगफल तयार गर्यो । पाकिस्तानका लागि ओपनर हैदर अलिले ५६ रन तथा कप्तान रोहेल नाजिरले ६६ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान खासै उल्लेख्य योगदान दिन सकेनन् । बलिङतर्फ भारतका सुशान्त मिश्रले ३ विकेट लिँदा कार्तिक त्यागी र रवि विश्नोइले समान २-२ विकेट लिए ।

प्रतिउत्तरमा १ सय ७३ रनको लक्ष्य भारतले कुनै विकेट पनि नगुमाई ३५.२ ओभरमै भेट्टाउन सफल बन्यो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय १ सय ५ रन बनाए भने दिव्यासं सक्सेनाको ब्याटबाट ५९ रन बन्यो । जीतसँगै भारतले यु-१९ विश्वकपमा पाकिस्तानलाई लगातार चौथो पटक हराएको छ । पाकिस्तानको पुरुष सिनियर टोलीले पनि हालसम्म भारतलाई विश्वकप प्रतियोगितामा हराउन सकेको छैन ।

जीत पछि अब भारतले फाइनलमा बङ्गलादेश र न्युजिल्यान्डबीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमिफाइनल बिहीबार हुनेछ भने प्रतियोगिताको फाइनल आइतबार खेलिनेछ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button