आजको पत्रपत्रिका : बामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई नै अधिकार

काठमाडौं : आज काठमाडौं प्रकाशित विभिन्न पत्रपत्रिकाहरुले विभिन्न समाचारलाई प्राथमिकता दिएका छन्।
कान्तिपुर दैनिकले वामदेवलाई प्रधानमन्त्री बनाउन राष्ट्रपतिलाई थप अधिकार दिने विषयको समाचारलाई मुख्य बनाएको छ।

‘सेरेमोनियल राष्ट्रपतिलाई संकटकालीन अधिकार !’ शीर्षक दिएको उक्त समाचारमा भनिएको छ, “कुरा वामदेव गौतम प्रधानमन्त्री बन्ने रहरबाट सुरु हुन्छ, जुन रहर उनको मनमा २०७४ को प्रतिनिधिसभाअघि तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र २०७१ मा तत्कालीन एमालेको नवौं महाधिवेशनका बेला केपी शर्मा ओलीले भरिदिएका थिए।

पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि गौतमको प्रधानमन्त्री बन्ने चाहना भने अधुरै रह्यो। २०७५ यताको सार्वजनिक रेकर्डमात्रै केलाउँदा पनि गौतमले प्रधानमन्त्री बन्नका लागि कम्तीमा १४ पटक प्रयास गरेको देखिन्छ। ती सबै प्रयास असफल भएपछि राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्ने प्रस्ताव अहिले अघि बढाइएको हो।”

कान्तिपुरका अनुसार यसको औपचारिक प्रस्ताव दाहालले गत पुस पहिलो साता काठमाडौंमा सम्पन्न स्थायी कमिटी बैठकको अन्तिम दिन राखेका थिए।

गौतमको मनबाट भने यो कुरो हटिसकेको रहेनछ। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, दुवै अध्यक्ष र सचिवालयका अरू नेताहरूसँग बारम्बार भेटेर आफूलाई राष्ट्रिय सभामा लैजान र राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न मिल्ने गरी संविधान संशोधनको वातावरण बनाउन दबाब दिइरहेका थिए।

अन्ततः नेकपाको सबभन्दा उपल्लो अंग केन्द्रीय सचिवालयका नौ सदस्यमध्ये छ जना त्यसमा सहमत भए। प्रधानमन्त्री ओलीको भने त्यतिञ्जेल फरक मत थियो।

गौतमको विषयमात्र अगाडि बढाउँदा संशोधन प्रस्तावमा ओलीलाई सहमत गराउन नसकिने देखेर त्यसबीचमा नयाँ रणनीति बनाउन थालियो। ओली, दाहाल, नेपाल र गौतमबीच थुप्रै द्विपक्षीय तथा बहुपक्षीय बैठकहरू भए। त्यसैको परिणाम हो, संविधान संशोधनका निम्ति नेकपाभित्र पछिल्लो पटक छलफलमा आएका चार एजेन्डा।

पहिलो एजेन्डा स् राष्ट्रिय सभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने।

यसपालि संविधान संशोधनको मूल विषय नै यही थियो। अरू नेताहरूले गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनीत हुन सहमत गराइसकेका थिए।
यसमा ओली, दाहाल र नेपालको छुट्टाछुट्टै स्वार्थ जोडिएको छ।

ओली पक्षले गौतम राष्ट्रिय सभा सदस्य भए भने उनलाई वरिष्ठ उपप्रधानमन्त्रीसहित कुनै आकर्षक मन्त्रालय दिएर सरकारमा ल्याउने र आफ्नोतर्फको समीकरण मजबुत बनाउने ठानेको छ। दाहाल र नेपाल पक्षचाहिँ गौतमलाई राष्ट्रिय सभामा लगियो भने ओली पक्षसँग लड्न आफूले धेरै ऊर्जा खर्चिनै नपर्ने बुझाइ राख्छन्।

दोस्रो एजेन्डा स् राष्ट्रपतिको संकटकालीन अधिकार बढाउने।

संविधानको धारा ६६ ले राष्ट्रपतिको काम, कर्तव्य र अधिकार स्पष्टैसँग व्याख्या गरेको छ। तर, मुलुकमा त्यस्तो कुनै अप्ठ्यारो आइलागिहाल्यो भने राष्ट्रपतिको पनि अधिकार थप्नुपर्छ भन्नेमा नेताहरूले छलफल तीव्र पारेका छन्।

वरिष्ठ अधिवक्ता श्रीहरि अर्याल प्रधानमन्त्रीय शासन प्रणाली रहेको मुलुकमा यस्तो खालको बहस चल्नु नै दुर्भाग्यपूर्ण ठान्छन्।

“अहिले राष्ट्रपतिलाई जुन अधिकार दिइएको छ त्यो नै पर्याप्त छ,” अर्यालको भनाइ छ, “त्यसभन्दा बढी अधिकार हुँदा राष्ट्रपति निरंकुश बन्ने सम्भावना रहन्छ, जस्तो कि श्री ३ र श्री ५ को सरकारहरू थिए।”

सोही विषयमा अन्नपूर्ण पोस्ट दैनिकले ‘गौतमको तागत’ शीर्षकको मुख्य समाचार प्रकाशित गरेको छ।

“पार्टी विधान संशोधन गरेर उपाध्यक्ष। त्यसअघि नै संगठन विभाग प्रमुख। राष्ट्रियसभामार्फत प्रधानमन्त्रीको हकदार बनाउन देशकै संविधान संशोधनको गृहकार्य।

आखिर वामदेव गौतमको ‘तागत’ के हो, जसले चाहेको कुरा पुर्याएदिन शीर्ष नेताहरूलाई कर लाग्छ?

उनको खास ‘तागत’ हो– पार्टी्भित्र आ–आफ्ना शक्तिशाली गुट चलाउँदै आएका अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसम्मले समीकरण बलियो देखाउन ‘तानातान गर्नु’। त्यसैको फाइदा उठाउँदै गौतमले भूमिका बढाउन खोजिरहेका छन्,” अन्नपूर्णले लेखेको छ।

नयाँ पत्रिका दैनिकले भने ‘वामदेवलाई फेरि ब्याक फायर’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ।

नागरिक दैनिकले भने घुस बार्गे्निङ प्रकरणमा प्रतिपक्षी दलका नेताले सरकारसँग जबाफ मागेको विषयसम्बन्धी समाचारलाई मुख्य बनाएको छ।

यस्तै, कान्तिपुर दैनिकले दिल्लीमा हिंसा भड्किएको समाचारलाई पहिलो पृष्ठमा छापेको छ। अन्नपूर्णले १८ वर्षमा तीन पिल्लर मात्रै ठड्याइएको पुलको समाचारलाई पहिलो पेजमा स्थान दिएको छ। नागरिक दैनिकले ‘निजगढ विमानस्थलमा पनि यतीको चलखेल’ शीर्षकको समाचार प्रकाशित गरेको छ।

सम्बन्धित न्यूज

Back to top button