वेगनासतालमा पर्यटकको आर्कषण बढ्दो

पोखरा । सफा कञ्चन पानी, वरिपरि हरियाडाँडा, अनि शहरको कोलाहलबाट मुक्त ठाउँमा छ सुन्दर वेगनासताल । यहाँबाट अन्नपुर्ण र माछापुच्छ्रे हिमश्रृखला हेर्न पाइन्छ । यो तालमा पुगेर वरिपरिका मनोरम दृश्य नियाल्दै अनि वेगनासतालमा डुंगा सयर गर्दै आफ्ना थकाई र तनावलाई विर्सन पाउने विशेषताकै कारण यो तालतर्फको आर्कषण बढ्दै गएको छ ।

२ सय २५ हेक्टर क्षेत्रफलमा फैलिएको यो यो ताल कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३१ मा पर्दछ । यसको गहिराई ७ दशमलव ५ मिटरको छ । वेगनास तालको मुहान भनेको स्याङ्खुदी लिब्दि, मलादी सहितका खोलाहरु हुन् । यहाँ पुग्नेमा आन्तरिक पर्यटक सँगै विदेशी पर्यटकको संख्या पनि उस्तै छ ।

पछिल्लो समय  नेपाल आउने भारतिय पर्यटकको रोजाइमा समेत वेगनास ताल पर्ने गरेको छ  । यहाँ पाइने माछाको स्वादले समेत यहाँ पुग्ने पर्यटकलाई लोभ्याउँछ। यहाँ वाम, सर, नैनी, फगेटा, भोटी जस्था रैथाने माछा पाइन्छन् । तर तिलिपिया जातको माछाको कारण रैथाने माछाको उत्पादनमा भने  कमी आउन थालेको छ ।

वेगनास ताल नजिकै बस्नको लागि होटलहरु, रिर्सोट र माछा लगायतका परिकार खानका लागि रेष्टुरेन्टको राम्रो व्यवस्था हुँदा शहरको कोलाहलबाट छुटकारा लिदै रमाउन खोज्नेहरुको रोजाइमा वेगनास ताल पर्न थालेको छ । यसका अलावा शान्त ठाउँमा रम्न चाहने युवा–युवती तथा प्रेमिल जोडीको छनोटको घुम्ने ठाउँमा समेत  वेगनासताल पर्दछ ।

हाल वेगनासतालमा वेगनासताल डुंगा व्यवसायी समितिका २ सय ४९ वटा डुंगा सञ्चालनमा रहेको वेगनासताल डुंगा काउन्टरका कर्मचारी शिव प्रसाद पाण्डेले जनाए । यहाँ पुग्ने गरेका केहि डुंगा सयर गर्दै रमाउछन् । केहि भने ताल किनारामानै बसेर वरिपरिका रमणिय दृश्य नियाल्दै रिर्फेस हुने गर्दछन् । वेगनासतालमा चालक सहित डुंगा सयर गर्न प्रति डुंगा एक घण्टाको लागि ५ सय, दूई घण्टाको लागि ९ सय, ३ घण्टाको लागि १ हजार २ सय ५०, दिनभरको लागि २ हजार र तालपारी पुग्नका लागि ६ सय रुपैया शुल्क लाग्दछ । डुंगामा ४ जनाले सयर गर्न सक्नेछन् ।

यहाँ प्याडल बोट पनि रहेका छन् । दुईवटा डुंगा जोडेर बनाइएको प्याडल बोटमा प्रति प्याडल बोटको एक घण्टाको १ हजार, दूई घण्टाको लागि १ हजार ८ सय, तीन घण्टाको लागि २ हजार ५ सय, चार घण्टाको लागि ३ हजार, दिनभरीको लागि ५ हजार र ताल वारपार गर्नको लागि मात्र २ हजार रुपैयाँ शुल्क लाग्नेछ । डुंगा चालकको व्यवस्था समितिलेनै गर्नेछ । मोटरवोटको लागि भने ३ हजार रुपैयाँ शुल्क तोकिएको छ । वेगनास तालमा डुंगा सयर गर्न खोज्नेले कम्तिमा १ घण्टाको समय छुट्याउनु पर्ने हुन्छ ।

समुद्रि सतहबाट ६ सय ७७ मिटरको उचाईमा रहेको यो तालको पर्याप्त प्रचारप्रसार हुन नसक्दा यसप्रतिको आर्कषण जती हुन पर्ने हो त्यति मात्रामा हुन सकेको छैन । कतिपय पोखरा घुम्न पुग्ने पर्यटकले वेगनासतालको बारेमा थाहानै पाउदैन । किनकी पोखराको मुख्य बजारबाट नजिकै फेवाताल रहेको छ । फेवातालकै कारण पनि वेगनास तालले आफु सुन्दर र आर्कषण हुँदाहुदै पनि महत्व पाउन नसकेको तितो यर्थाथ रहेको छ । पृथ्विराजमार्ग अन्र्तगत लेखनाथ तालचोकबाट झण्डै ३ किमिको दुरीमा वेगनासताल रहेको छ ।

पोखराको फेवातालबाट वेगनासतालसम्मको लागि सिधा सार्वजनिक बस पनि सञ्चालनमा छ । जसले वेगनासताल र फेवाताल दुवै घुम्ने रहर हुनेहरुलाई सहजता बनाएको छ ।

कास्की जिल्लामा १० वटा ताल रहेका छन् । जसमा फेवा, वेगनास सहित रुपा, खास्टे, दिपाङ, गुँदे, न्युरेनी, मैदी, कमलपोखरी र कफुचे ताल रहेका छन् । कफुचे हिमताल हो ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button