म्याग्दीमा हिमपात, जनजीवन प्रभावित

म्याग्दी। शनिबार रातिको वर्षासँगै म्याग्दीका उच्च पहाडी बस्तीमा हिमपात भएको छ ।

धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो ।

दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् । यो वर्षको मङ्सिर यता ९ पटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

अन्नपूर्ण गाउपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए । बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन् ।

हिमपातका कारण सो गाउँपालिकाको नारच्याङमा निर्माणाधीन १ सय १० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७.५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवर्द्धकले बताएका छन् । -रासस

सम्बन्धित न्यूज

Back to top button