विश्वमा कोरोनाको कहर : एकै दिन १३ सय बढीको मृत्यु, ३० हजार संक्रमित

पोखरा । कोरोनाको कहर शुरु भएयता कै एक सर्वाधिक विनाशकारी दिन बनेको शुक्रबार (हिजो) भाइरसबाट १३ सय भन्दा बढी मानिसले ज्यान गुमाएका छन् भने ३० हजार भन्दा बढी नयाँ बिरामी थपिएका छन् ।

चीनको उहान उद्गमस्थल मानिएको भाइरसले हाल युरोपलाई केन्द्रविन्दु बनाउँदै त्यहाँ निकै ठूलो महामारी निम्त्याएको छ । युरोपका इटाली, स्पेन, जर्मनी र फ्रान्समा व्यापक बनिसकेको भाइरस बिस्तारै स्वीजरल्यान्ड, नेदरल्यान्ड,अष्ट्रिया, बेल्जियम, नर्वे, स्वीडेन, डेनमार्क र पोर्चुगलमा पनि फैलिन थालेको छ । इटाली एकैदिनमा हालसम्म कै सर्वाधिक ६ सय २७ ले ज्यान गुमाएका छन् भने स्पेनमा भाइरसबाट शुक्रबार २ सय ६२ को मृत्यु भएको छ । त्यस्तै युरोपबाट अलग्गिएको बेलायतमा पनि शुक्रबार ३३ जनाको मृत्यु हुँदा ७ सय बढी नयाँ बिरामी थपिएको छ ।

उत्तर अमेरिका पनि कोभिड-१९ को महामारीबाट प्रभावित बनेको छ । त्यहाँ संयुक्त राज्य अमेरिका र क्यानडामा भाइरस महामारीकै रुपमा फैलिएको छ । संयुक्त राज्य अमेरिकामा मात्रै शुक्रबार ५७ सय भन्दा नयाँ संक्रमित पुष्टि भएका छन् भने क्यानडामा पनि २ सय १४ जनामा भाइरस देखिएको छ । शुक्रबार भाइरसबाट अमेरिकामा ५५ जनाको मृत्यु भएको छ भने कुल मृतकको संख्या २ सय ५० नाघेको छ ।

यता भाइरस शुरुमा देखिएको एसियामा दोस्रो चरणको प्रभाव देखिन थालेको छ । अघिल्ला दिन निकै कम संक्रमित देखिएको चीनमा शुक्रबार फेरि ४१ जनामा कोरोना संक्रमण देखिएको छ । इरानमा १२ सय ३७, दक्षिण कोरियामा २ सय ३४ तथा अष्ट्रेलियामा १ सय ७२ जनामा पछिल्लो २४ घण्टामा नयाँ संक्रमण देखिएको हो । चीनमा हालसम्म कोभिड – १९ बाट ३ हजार २ सय ५५ तथा इरानमा १ हजार ४ सय ३३ को मृत्यु भइसकेको छ । खाडी देशहरुमध्ये कतार र साउदी अरबमा कोरोनाको सर्वाधिक फैलावट देखिएको छ ।

दक्षिण अमेरिकाका ब्राजिल, चिली, इक्वेडर, मेक्सिको, अर्जेन्टिना, कोलम्बियामा पनि संक्रमण फैलिन थालेको छ । त्यस्तै घना आवादी रहेका अफ्रिकी मुलुकमा पनि भाइरसले बिस्तारै प्रभाव जमाउन थालेको छ । त्यहाँ दक्षिण अफ्रिका सर्वाधिक प्रभावित बनेकोमा मोरक्को, जमैका, रुवाण्डा, घानालगायत देशमा पनि संक्रमण भेटिएको छ ।

त्यस्तै छिमेकी मुलुक भारतमा शुक्रबार ५५ नयाँ कोरोना संक्रमित भेटिएको छ भने मृत्यु हुनेको संख्या पनि ५ पुगेको छ । सार्क राष्ट्रमध्ये पाकिस्तानमा संक्रमितको आँकडा ५ सय नाघेको छ ।

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button