अब फेसबुक खाता बिना नै फेसबुक लाइभ सुन्न मिल्ने

पोखरा न्यूज । फेसबुकले पछिल्लो समय आफ्ना सेवा सुविधामा नयाँ नयाँ फिचर थप्दै आएको छ । यसै अन्तर्गत अब फेसबुकमा खाता नखोलेका मानिसहरुले पनि फेसबुक लाइभ सुन्न सक्ने सुविधा फेसबुकले ल्याउने भएको छ ।

कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै धेरै भन्दा धेरै मानिससम्म आफ्ना सुविधा पुर्याउने लक्ष्यका साथ उक्त फिचर ल्याउन लागेको फेसबुकले जनाएको छ । फेसबुक नचलाउनेहरुका लागि तथा फेसबुकबाट लगआउट भएको बेला समेत सुन्न सकिने यस्तो अडियो-सुविधामा संवत् क्याप्सनको पनि सुविधा हुनेछ । फेसबुक लाइभको भिडियो हेर्न भने फेसबुकमा लगइन हुनुपर्नेछ ।

अन्य नयाँ फिचरहरुमा फेसबुकले भिडियो निर्माता तथा सङ्गीतकारहरुका लागि स्टार्स नामक फिचर पनि ल्याउने तयारी गरेको छ । यस नयाँ फिचर अन्तर्गत अब भिडियो निर्माता तथा गायक सङ्गीतकारहरुले फेसबुक लाइभबाटै पैसा कमाउन सक्नेछन् । यसका लागि फेसबुक लाइभ कार्यक्रम हेर्ने दर्शकहरुले १ रुपैयाँ बराबरको स्टार किनेर लाइभ गर्ने व्यक्तिलाई बुझाउन सक्नेछन् । कोरोनाका कारण धेरै जसो मानिस घरमै बसेको बेला अब यस सुविधाले घरबाटै डिजिटल कन्सर्ट लगायत कार्यक्रम गरेर पैसा कमाउने अवसरसमेत प्राप्त हुने दाबी गरिएको छ ।

त्यस्तै फेसबुकले लाइभ प्रड्युसर नामक टुल नै निर्माण गरेर मोबाइलबाट नै सजिलो र प्रभावकारी रुपमा लाइभ कार्यक्रम गर्न सकिने व्यवस्था गरेको पनि जनाएको छ ।

सम्बन्धित न्यूज

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button