लकडाउनका कारण मिर्गौलाका बिरामी मारमा

तनहुँ । कोभिड–१९ को जोखिम कम गर्ने उद्देश्यले लकडाउन लागू भएपछि तनहुँमा मिर्गौलाका बिरामी मारमा परेका छन् । नियमित डायलोसिस गर्नुपर्ने बिरामी लकडाउनका कारण सवारी सञ्चालन नभएपछि चिन्तामा परेका हुन् ।

दमौली अस्पतालमा रहेको शत्रुधन मन्जु डायलोसिस केन्द्रमा डायलासिस गर्नका लागि बिरामीलाई एम्बुलेन्स रिजर्भ गरेर आउनुपर्ने बाध्यता छ । लकडाउनको कारण सवारी साधन नचलेपछि एम्बुलेन्स भाडामा लिएर डायलोसिस गर्न आउनुपरेको व्यास नगरपालिका–६ सिसाघाटका देवबहादुर गुरुङले गुनासो गरे । सामान्यावस्थामा रु ३० देखि ५० भाडा तिरेर दमौली आउने गरे पनि अहिले एम्बुलेन्स भाडामा लिँदा रु एक हजारदेखि एक हजार पन्ध्रसम्म खर्च हुने गरेको उनको भनाइ छ ।

“सवारी साधन नचलेपछि महँगो भाडा तिरेरै भए पनि डायलोसिस गराउन जानैपर्यो,” उनले भने, “आफ्नै मोटरसाइकल पनि थियो तर लकडाउन उल्लङ्घन गरेको भन्दै प्रहरीले नियन्त्रणमा लियो ।” उनले हप्तामा दुई पटक डायलोसिस गराइरहेका छन।

सवारी साधन नचलेपछि मालवाहक ट्रक चढेर डायलोसिस गराउन आउने गरेको शुक्लागण्डकी नगरपालिका–५ बेलचौताराकी अनिशा सुवेदीले बताइन । “प्रहरीको सहयोगमा ट्रकमा दमौलीसम्म आएर डायलोसिस गराइरहेको छु,” उनले गुनासो गरिन, “लकडाउनका कारण डायलोसिस गराउन समस्या परेको छ ।”

म्याग्दे गाउँपालिका–१ गुणादीकी दिलशोभा रानाले आफन्तको मोटरसाइकल चढेर डायलोसिस गराउन आउने गरेको बताइन । “प्रहरीले रोकेको बेला डायलासिस गराउन आएको हुँ भनेर भनिरहेको छु”, उनले भनिन ।

मिर्गौलापीडितले नियमित रुपमा डायलोसिस गराउनुपर्ने भएकाले लकडाउनको बेला पनि डायलोसिस गर्ने बिरामीको सङ्ख्या नघटेको डायलोसिस केन्द्रका इञ्चार्ज शैलेश पण्डितले जानकारी दिए । “लकडाउनले बिरामीलाई सास्ती त भएको छ तर नियमित डायलोसिस गराउनुपर्ने भएकाले जसोतसो आइरहनुभएको छ,” उनले भने ।

विसं २०७२ मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलोसिस केन्द्र स्थापना भएको थियो । केन्द्रले चार वर्षका अवधिमा २४ हजार ९ सय ८६ पटक डायलोसिस सेवा प्रदान गरेको छ । पण्डितका अनुसार केन्द्रबाट हालसम्म २१० मिर्गौलापीडितले डायलोसिस सेवा लिएका छन् ।

केन्द्रमा नियमित डायलोसिस गराउने मिर्गौलापीडितको सङ्ख्या भने ७२ छ । पण्डितका अनुसार हप्तामा दुई पटक डायलोसिस सेवा लिने मिर्गौला पीडित ६६ र हप्तामा तीन पटक डायलासिस सेवा लिने मिर्गौलापीडित ६ जना छन् । केन्द्रमा डायलासिस गराउने नौ उपकरण छ ।

हेल्थ केयर फाउण्डेशन अफ नेपालले दमौली अस्पतालमा डायलोसिस केन्द्र स्थापना गरेको थियो । केन्द्रका लागि मञ्जु उपाध्यायले आफ्ना स्व पति शत्रुधनका स्मृतिमा शुरुमा रु एक करोड सहयोग गरेकी थिइन् भने पछि उपकरण थप गर्नका लागि रु २५ लाख सहयोग  गरेकी थिइन् । केन्द्रमा शुरुमा रु एक करोड २० लाखको लागतमा ६ डायलाइसिस उपकरण जडान गरिएको थियो । पछि तीन उपकरण थप गरिएछि केन्द्रमा हाल नौ डायलोसिस उपकरण छ । -रासस

सम्बन्धित न्यूज

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button