
पोखरा न्यूज । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आगामी बैखाश २१ गते गर्ने पाँचौं संस्करणको पोखरा स्पोर्टस् अवार्ड तयारी शुरु भएको छ ।
बतास ब्रदर्शको मुख्य प्रायोजनमा हुने टीभीएस अपाचे पोखरा स्पोर्टस् अवार्डमा विगतमा झैँविभिन्न विधामा अवार्ड प्रदान गरिने छ । जसअनुसार लाइफ टाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष चर्चित खेलाडी, वर्ष उदियमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल संघ र वर्ष उत्कृष्ट पत्रकारिता अवार्ड गरी ८ विधा रहेका छन् ।
विगतमा जिल्लास्तरको उक्त अवार्ड चौथो संस्करणदेखि गण्डकी प्रदेशस्तरीय हुँदैआएको छ । २०७६ सालभर गरेका गतिविधिलाई आधार मानेर ३ मनोनयन सूची सार्वजनिक गरी अन्तिम दिन अवार्ड समारोहमा उत्कृष्टलाई अवार्ड प्रदान गरिनेछ ।
मञ्चको पोखरामा बसेको १६ औं बैठकले अवार्डका लागि अध्यक्ष एकराज गिरीको मूल संयोजकत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति गठन गरेको छ । बैठकले अवार्ड कार्यक्रम सभ्य र भव्य बनाउन विभिन्न उपसमिति गठनबारे छलफल समेत गरेको छ ।
पोखरा सभागृहमा आगामी २०७७ वैशाख २१ मा विश्व प्रेस स्वन्त्रता दिवसका दिन उक्त अवार्ड वितरण गरिने मञ्च अध्यक्ष एकराज गिरीले जनाए । विगतमा झैं यसपालि पनि कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सम्पूर्णसँग सहयोगको लागि उनको आग्रह गरेको छ ।





