‘यो कस्तो महाभारत’ नाटक मञ्चन सम्पन्न

पोखरा न्यूज । फागुन ९ गतेबाट पोखरा ग्रैहापाटनमा रहेको पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन शुरु भएको नाटक ‘यो कस्तो महाभारत’ मञ्चन शनिबार सकिएको छ । पोखरा थिएटरको ११ औँ प्रस्तुतीका रुपमा तयार भएको यो नाटकले अपेक्षार्कत दर्शकको माया बटुलेको पोखरा थिएटरका अध्यक्ष परिवर्तनले बताए ।

नाटकका लेखक दीपक पराजुली दर्शकको माया र साथको कारण यो कस्तो महाभारत २ समेत लेख्ने जोश मिलेको बताए । नाटकको परिकल्पना तथा निर्देशन पंच सुब्बा गुरुङले गरेका थिए । निर्देशक गुरुङ यो डेब्यु निर्देशन थियो । डेब्यु निर्देशनमानै उनले दर्शकको अथाह माया पाएका छन् । यसले उनको कलाकारिता सँगै निर्देशन तर्फको यात्रालाई समेत सहज बनाएको छ ।

नाटकलाई उत्कृष्ट बनाउन कलकारको मेहनत उतीकै रह्यो । कलाकारहरु निश्चल विमल, रोशन ज्ञवाली, रमेश बाबु तिमल्सीना, नवराज गिरी, विष्णु तिमल्सीना, राजेन्द्र अधिकारी,सरोज तिवारी, सुमन तिमिल्सिना, उज्वल राज ढकाल, गौरव पौडेल, एम.डि. काफ्ले, अन्जन रोका, प्रतिक घिमिरे र धनकाजी श्रेष्ठले आफुले पाएको भुमिकामा न्याय गर्ने प्रयास गरे । फलस्वरुप कलकारहरु दर्शकको नोटिसमा परिसकेका छन् । आगामी दिनको कला यात्रा झनै फराकिलो हुने उनीहरुको विश्वास छ ।

एकघण्टा अवधिको यो नाटक मार्फत देशको वास्तविक अवस्थालाई देखाउने प्रयास गरिएको थियो । घटना, पात्र र परिवेश बदलिए पनि हालसम्म भइरहेको सत्ताको हानथापलाई नाटक मार्फत देखाउदा नाटक रुचिकर बन्यो । आफ्नो शक्ति अनि स्वार्थको लागि हुने आपसी टकराव, संघर्ष र लुछाचुँडी यसको मुख्य विषयवस्तु नाटकमा थियो ।

कुनै न कुनै रुपमा महाभारत आज पनि कायमै छ भन्ने सन्देश बोकेका नाटकमा देशमा भइरहेका गतिविधिलाई दर्शकले नजिकबाट बुझ्न पाए । नारी पात्र नाटकमा नभएपनि किन नाटकमा नारी पात्र राखिएन भन्ने जवाफ दिँदै दर्शकलाई सोचनिय बनाएको छ । नाटक मञ्चनको समापनको अवसरमा कलाकार तथा सहयोगीहरुलाई प्रंशसापत्र प्रदान गरियो ।

उनीहरुलाई रंगकर्मी अनुप बराल, वरिष्ठ कलाकार प्रकाश घिमिरे, कलाकार प्रमिला तुलाचन, नाटकका लेखक दिपक पराजुली, निर्देशक पंच सुब्बा गुरुङ, पोखरा थिएटरका अध्यक्ष परिवर्तनले प्रंशसा पत्र वितरण गरे ।

सम्बन्धित न्यूज

Back to top button