चीनबाट आएका ७१ कामदार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा क्वारेन्टिनमा

पोखरा । पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना चिनियाँ कामदारलाई क्वारेन्टिनमा राखिएको छ ।

नोभल कोरोना भाइरस संक्रमणको पूर्व सचेतनाका लागि उनीहरुलाई क्वारेन्टिनमा राखिएको  विमानस्थल आयोजना प्रमुख विनेशकुमार मुनानकर्मीले जानकारी दिए ।

चीनमा १४ दिनसम्म क्वारेन्टाइन बसेर  फागुन २१  गतेदेखि गते २३ सम्म पोखरा आएका चिनियाँ नागरिकमध्ये ७१ जनालाई अब १० दिनसम्म क्वारेन्टिनमा राखिनेछ ।

यात्राका क्रममा  संक्रमित भएको  हुन सक्ने आशंकामा उनीहरुलाई क्वारेन्टिनमा राखिएको हो । क्वारेन्टिनमा बसेकाहरुलाई दैनिक ३ पटकसम्म ज्वरो नापिनेछ । १ सय ४ डिग्रीभन्दा बढी ज्वरो आएको देखिएमा उनीहरुलाई अस्पताल लगिनेछ । मुनानकर्मीले  हालसम्म कसैलाई पनि उच्च ज्वरो नदेखिएको र संक्रमित भएको नपाइएको बताए । यसअघि, आएकामध्ये ३६ जना चिनियाँ नागरिक क्वारेन्टिनमा बसेका र उनीहरुमा संक्रमण नभएको पाइएपछि काममा फर्किसकेका छन् ।

राष्ट्रिय गौरवको आयोजना मानिने पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ५५ प्रतिशत सम्पन्न भइसकेको उनले बताए । विमानस्थल निर्माणमा १ सय ९० जना चिनियाँ कामदार र २ सय ८० जना नेपाली कामदार कार्यरत छन् । विमानस्थलको सडक,ड्रेन , पार्किङ लगायतको काम अहिले जारी छ ।

कोरोना भाइरसका कारण आवश्यक सामग्री भित्राउदा ठाउँ ठाउँमा क्वारेन्टिनमा बस्नुपर्ने समस्याका कारण सहजताका लागि विदेशबाटै सिधै विमानमार्फत सामग्री ल्याउने तयारी गरिएको बताइएको छ ।

कोरोना भाइरस रोकथाम र नियन्त्रणको लागि पोखरामा पूर्व तयारीस्वरुप हाल यस क्षेत्रका विभिन्न अस्पतालमा गरी ८० वटा आइसोलेसन बेड तयार पारिएको बताइएको  छ ।

सम्बन्धित न्यूज

Back to top button