मिस नेपाल २०२० को पोखरा अडिसन हुँदै

पोखरा। मिस नेपाल २०२० को पोखरा अडिसन हुने भएको छ । अनलाइन र प्रत्यक्ष रुपमा फारम भनेका प्रतियोगीहरुका लागि फागुन २९ गते साँझ ५ बजे वाटरफ्रन्ट रिसोर्टमा ‘वरिएन्टेसन क्लास’ हुनेछ । त्यस पश्चात उनीहरुको चैत्र ३० गते शुक्रबार पूर्वाह्न ११ बजे अडिसन हुने हिडेन ट्रेजरका निर्देशक दिवाकरराज कर्णिकारले जनाए ।

पोखरा अडिसनको लागि हिडेन ट्रेजर टोली पोखरा आइपुगेको छ । हिडेन ट्रेजर नेपालका निर्देशक कर्णिकार सहित मिस नेपाल इन्टरनेश्नल २०१८ कि विजेता रोनाली अमात्य अडिसनका लागि पोखरा आएका छन् । मिस नेपाल अन्तर्राष्ट्रिय छविको राष्ट्रिय कार्यक्रम बनेको र केही गर्न चाहने युवतीहरुका लागि सही प्लेटफर्म भएकाले पनि यस कार्यक्रममा सहभागी हुन पोखरेली युवतीहरुलाई आयोजकको आग्रह छ ।

विभिन्न सहर र कुनाकुनाका प्रतिभालाई उजागर गर्नका लागि यसपालि नेपालका ८ वटा सहरहरुमा अडिसन गरिने आयोजकले जनाए । जसअनुसार काठमाडौँ, पोखरा, धरान, चितवन, बुटवल, वीरगञ्ज, बिर्तामोड, धनगढीका अडिसन हुनेछ । अडिसनबाट छानिएका युवतीहरुलाई काठमाडौँमा ६ हप्ता तालिम प्रदान गरी फाइनल प्रतिष्पर्धामा उतारिनेछ ।

अडिसनमा सहभागी हुन रजिष्ट्रेशन फि जम्मा दूई हजार लाग्नेछ । छनोट भएपश्चात मिस नेपालको अवधिभर लाग्ने सम्पूर्ण खर्च आयोजकले बेहोर्ने भएकाले जस्तोसुकै आर्थिक अवस्थाका प्रतियोगीलाई सहज हुने कर्णिकारको दावी छ ।

मिस नेपाल इन्टरनेशल २०१८ रोनाली अमात्यले मिस नेपालको जर्नीबारे बताउँदै कुनै सङ्कोच नमानी अडिसनमा भाग लिन आग्रह गर्छिन् । यस वर्ष पुरुसकार राशीमा वृद्धि भएको छ । यो वर्ष दुई लाख ५० हजार रुपैयाँ सहित त्रैमासिक भत्ता समेत पुरस्कारको रुपमा प्रदान गरिनेछ ।

मिस नेपालमा सहभागिताका लागि प्लस टु उत्तीर्ण, १८ वर्ष पुगेर २६ वर्ष ननाघेका र ५ फिट ४ इन्च उचाइ हुनपर्ने छ । मे १५ तारिख काठमाडौँमा हुने मिस नेपाल प्रतियोगितामा मिस पोखरा, मिस अष्ट्रेलिया, मिस युरोपले अडिसन नदिई सिधै प्रवेश पाउनेछ ।

सम्बन्धित न्यूज

Back to top button